काठमाडौं, २१ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट बैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–४ बस्ने सरला खड्का र काठमाडौं महानगरपालिका–१६ बस्ने रिंकु गुरुङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलरसहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला खड्काको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको हो ।
पक्राउ दुवै जनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर लगिएको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ
पर्सा ईनर्वागाउँ वाईपास रोडबाट बारा फेटा गाउँपालिका ३ बस्ने २२ वर्षीय सुनिल मण्डललाई नियन्त्रित लागूऔषध कोरेक्स १ सय पिस सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका मण्डललाई प्रहरी चौकी ईनर्वागाउँ पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

