काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत नयाँबस्ती युथ क्लबले रामोञ्चक जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा सामाजिक युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँबस्तीले रोमाञ्चक जित हात पारेको हो।
खेलको नवौं मिनेटमा सुरेश खत्रीको गोलबाट सामाजिकले अग्रता लिएको थियो। खेलको ५८ औं मिनेटमा नयाँबस्तीका रमेश तामाङले गोल गर्दै टिमलाई १-१ गोलको बराबरीमा ल्याए।
त्यसपछि, खेलको ७५ औं मिनेटमा जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २-१ को जित दिलाएका थिए। आजको जितसँगै नयाँबस्तीले ६ खेलबाट १० अंक जोडेको छ। त्यस्तै, आजको हारसँगै सामाजिकले ६ खेलबाट ४ अंक जोडेको छ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन्। यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन्।



लोकपाटी न्यूज

