काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई समेत आफ्नै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने प्रक्रिया अगाडि बढाएको छ। आयोगमा स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ राजनीतिक दलले दल दर्ता गराएका छन्।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रयोजनका लागि दर्ता गराएका दललाई चुनाव चिह्न दिन न्यायोचित र वैधानिक ठानेर आयोगले चुनाव चिह्न प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको बताए। राष्ट्रिय दलको मान्यता नपाएका तर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका साना ७३ वटा दललाई पनि निर्वाचन आयोगले आफ्नै चुनाव चिह्न दिने भएको छ।
यसअघि आसन्न स्थानीय चुनावमा भाग लिन आयोगमा दर्ता भएका छन्, तर राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका ७३ साना दललाई यसअघि स्वतन्त्र उम्मेदवारकै हैसियतमा चुनाव चिह्न दिने भनिएको थियो। तर यसको विरोध भएपछि आयोगले निश्चित मापदण्ड तोकेर त्यस्ता दललाई पनि आफ्नै चुनाव चिह्न दिने निर्णय गरेको हो।
तर त्यसका लागि उनीहरूले आयोगले तोकेबमोजिम विवरण यही चैत ६ गतेभित्र पेस गर्नुपर्नेछ। विवरण नबुझाउने दललाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चुनाव चिह्न नै दिइने आयोगले जनाएको छ। दलहरूले कुन-कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना रहेको विवरण पेस गर्नुपर्ने र आयोगमा उपलब्ध गराएको जिल्लाको संरचनाको विवरण तयार गरी सो दलको जिल्ला समितिका पदाधिकारीले प्रमाणित गरी उक्त विवरण निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाएको छ।




लोकपाटी न्यूज

