हेटौंडा, १८ फागुन । ग्रामीण क्षेत्रको आर्थिक विकास तथा गरीबी निवारण गर्ने उद्देश्यले प्रदेश नं ३ सरकार र चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच प्रदेशको दुग्ध विकासका लागि सहकार्य गर्नेगरी सम्झौता भएको छ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालगायतको उपस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलयका निमित्त सचिव निर्मल गदाल तथा चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसका प्रमुख इञ्जिनीयर उडि सीङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले अब चीनबाट उन्नत जातका गाई ल्याएर नेपालको अर्थतन्त्रमा सुधार गरिने बताएका छन् । उनले भने, ‘लामो समयको प्रयासपछि सम्झौता भएको छ, यसले प्रदेशको अर्थतन्त्रमा आमूल परिवर्तन गर्छ भन्ने प्रदेश सरकारको ठम्याइ छ ।’ एक वर्षमा प्रदेशका १३ वटै जिल्लामा नश्ल सुधार गरिएका प्रशस्त दूध दिने गाई वितरण गर्ने कार्यक्रम रहेको मन्त्री ढुङ्गेलको भनाइ छ ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा लामाले चीनले गाईमा आधारित दाना उद्योग सञ्चालन, दुग्धजन्य पदार्थको उत्पादन, यसको बजारीकरण र पशु स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्ने जानकारी दिए ।
त्यस्तै चाइना एकेडेमीका प्रमुख इञ्जिनीयर सिङले प्रदेश सरकारसँग सहकार्य गरेर दैनिक ३० लिटरभन्दा बढी दूध दिने गाईहरु ल्याएर प्रशस्त दूध उत्पादन गर्ने एवं आधुनिक प्लान्ट ल्याएर स्वस्थ, सफा विभिन्न दुग्धजन्य पदार्थ उत्पादन र बिक्री वितरण गरेर स्थानीय अर्थतन्त्रलाई विकास गर्ने बताए ।
सम्झौताअनुसार चाइना एकेडेमीले नश्ल सुधार गरिएका उन्नत चिनियाँ गाई प्रदेशमा ल्याउने छ भने अत्याधुनिक उपकरणमार्फत दुग्धजन्य पदार्थ उत्पादन गर्नेछ । प्रदेशको तर्फबाट प्रदेशिक दुग्ध विकास बोर्डमार्फत प्रदेशका किसान तथा नागरिक एवं चाइना एकेडेमीबीच पुलको काम गर्नेछ । यी बाहेक अन्य आवश्यकीय सहकार्य हुने निमित्त सचिव गदालले जानकारी दिए । उनकाअनुसार प्रदेशका जनताको गरीबी निवारणका लागि प्रदेश नं ३ सरकारले दुग्ध विकास परियोजानाअन्तर्गत चीनबाट रु. तीन लाखसम्म पर्ने गाई चार हजारको सङ्ख्यामा ल्याउनेछ ।



लाेकपाटी न्यूज

