काठमाडौं। झम्सिखेल युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आफ्नो पहिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको पहिलो खेलमा ब्वाइज युनियन क्लबलाई ३-१ ले पराजित गर्दै झम्सिखेल युथ क्लबले पहिलो जित हात पारेको हो।
आकाशबहादुर रानाले खेलको १३ औं मिनेटमा गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए। खेलको १८ औं मिनेटमा मानकुमार राईले गर्दै झम्सिखेललाई दोब्बर अग्रता दिलाए। त्यस्तै, खेलको ५८ औं मिनेटमा आत्माराम रिजालले गोल गरेपछि झम्सिखेल ३-० ले अघि बढ्यो। ६० औं मिनेटमा विवेक राईले ब्वाइज युनियनका लागि सान्त्वना गोल गरे।
आजको जितसँगै ३ खेलमा ४ अंक जोडेको झम्सिखेल तेस्रो स्थानमा उक्लिँदा समान खेलबाट ३ अंकका साथ ब्वाइज युनियन आठौं स्थानमा झरेको छ। पहिलो खेलमा श्री भगवतीसँग ३-१ ले पराजित भएको झम्सिखेल दोस्रो खेलमा सरस्वती युथ क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो।
पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई १-० ले पराजित गरेको ब्वाइज युनियनले दोस्रो खेलमा श्री भगवतीसँग २-१ को हार बेहोरेको थियो।



लोकपाटी न्यूज

