‘बी’ डिभिजन लिग : श्री भगवतीको लगातार दोस्रो जित

लोकपाटी न्यूज

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत श्रीभगवती क्लबले लगातार दोस्रो जित निकालेको छ। ललितपुरस्थित एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा ब्वाइज युनियन क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै श्रीभगवतीले लगातार दोस्रो जित निकालेको हो।

बी डिभिजन लिगको पहिलो खेलमा श्रीभगवतीले झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।

श्रीभगवतीको जितमा अमित लामाले गोल गरे। श्रीभगवतीले अर्को गोल ब्वाइजका कप्तान विष्णुबहादुर सुनारबाट आत्मघाती उपहार पाएको थियो। त्यसअघि ब्वाइजका विनोद राईले गोल गर्दै युनियनलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको २७औँ मिनेटमा सुनारको आत्मघाती गोल गरेपछि ब्वाइज निरास बन्यो। श्रीभगवतीका लामाले ८५औँ मिनेटमा निर्णायक गोल गरे। जितसँगै श्रीभगवतीले ६ अंक बनाएको छ। ब्वाइजको समान खेलबाट तीन अंक छ।