मोरङ, १० फागुन। झापा बिर्तामोड नगरपालिका–४ बस्ने २७ वर्षीय दीपक पाण्डेलाई मोरङ बेलवारी नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको भाउन्ने चोक नजिक चौरमा २०६५ चैत ३१ गते दाउ प्रहारबाट हत्या गरी फरार रहेका झापा अर्जुनधारा नगरपालिका–२ बस्ने ४३ वर्षीय शरण भट्टराईलाई झापाको काकडभिट्टाबाट फागुन ७ गते प्रहरीले पक्राउ गरेको छ ।
साथै निजले मृतक पाण्डेले चलाएको को १ च ३८५० नम्बरको मारुती कार लुटेर पोखरा पुर्याई उक्त कार पोखरास्थित हिरा मोटरपार्टस एण्ड ग्यारेजका सञ्चालक हिरा गिरीकोमा राखी ६५ हजार रुपैयाँ लिएर फरार भई भारतको दार्जलिङस्थित पानी ट्याङकीमा बस्दै गरेको खुल्न आएको छ ।
भट्टराईलाई मोरङ जिल्ला अदालतवाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
यसैगरि ललितपुरको गोदावरीस्थित उषा महर्जनको घरमा चोरी गरी भाग्ने क्रममा ललितपुर लगनखेल बस्ने ३० वर्षीय सुनिल महर्जनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले सुनिललाई नगद ४ हजार ३ सय ४० रुपैयाँ तथा सुनका बिभिन्न गहना सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

