काठमाडौं । अध्ययनको सिलसिलामा सात वर्षदेखि अमेरिका बस्दै आएका अभिनेता प्रनिशराज पन्त चलचित्र ओभरडोज’ प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका छन्। आउँदाे शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ओभरडोज’का अभिनेता पन्त चलचित्र प्रदर्शनका लागि नेपाल आएका हुन्।
अभिनेता पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वास समेत व्यक्त गरेका छन्। उनले भने, ‘एकदमै मेहनत गरेको थिएँ । मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त पनि छु।’।
उनको यो पहिलो चलचित्र हो । प्रनिशले आफूलाई बच्चैदेखि अभिनयमा रुचि भएपनि नेपालमा हुँदा त्यो माहोल नबनेको बताएका छन् । ‘पहिले घरबाट सपोर्ट थिएन । बाहिर गएपछि अभिनयको बाटो खुल्यो,’ उनले भने ।
अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायांकन गरिएको चलचित्र हो । सुमन पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ । अभिनेता पन्तले चलचित्रमा मित्रता र धोकाको कथा पनि देखाइएको बताए ।
चलचित्रमा प्रनिशराजसँगै सविनजंग थापा, वीना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता जीवनकुमार केसी हुन् ।
गुच्ची भाइको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका हुन् । चलचित्रलाई जीजीए ग्रुपले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।



लोकपाटी न्यूज

