नेपालगञ्ज। युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराज अथकले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन्। तीन दिने भ्रमणका क्रममा गृहजिल्ला पुगेका मन्त्री अथकले गृहजिल्ला बाँकेमा साे एकेडेमीकाे शिलान्यास गरेका हुन्।
मंसिर ३ गते बेलुका नेपालगञ्ज पुगेका मन्त्री अथक ४ गते बिहान नेपालगन्ज म्याराथनमा सहभागी भएका थिए। प्रमुख अतिथिका रुपमा म्याराथनको उद्घाटन गरेपछि मन्त्री अथक केही दुरीसम्म प्रतिस्पर्धीहरुसँगै दौडिएका थिए।
तीन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गरे। मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गरेका थिए। सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन्।
१ अर्ब २२ करोड लागत अनुमान गरिएको उक्त एकेडेमीलाई रात्रीकालिन खेल संचालन गर्न सकिने तथा आवासीय सुविधासहित अन्तर्राष्ट्रिय स्तरमा निर्माण गरिने मन्त्री अथकले जानकारी दिए। आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त एकेडेमीको पूर्वाधार निर्माणको काम तत्काल अगाडी बढाउन उनले निर्देशन समेत दिए।
यसैबीच आफ्नो निर्वाचन क्षेत्रमा भएका विभिन्न गतिविधिको अनुगमनका लागि राप्तीपारी तथा नरैनापुर पुगेका मन्त्री अथकलाई स्थानीयहरुले भब्य स्वागत गरेका थिए । जिल्लाको तीन दिने बसाइका क्रममा मन्त्री अथकले विभिन्न खेल संरचनाहरुको अनुगमन गर्नुका साथै राजनीतिक कार्यक्रमहरुमा समेत सहभागिता जनाएका छन्।



लोकपाटी न्यूज

