‘सामाजिक क्रान्तिका ऐतिहासिक रूप’

marxist
लोकपाटी न्यूज

 संगठित मानव समाजको गठनको दिशामा मानवको पूर्वज आदिमानव रुखको बसोवार छोडेर भुईँमा समूहमा बसोबास गर्नु पहिलो क्रान्ति थियो भने हातलाई मुक्त गरी दुई खुट्टाले हिँड्नु, खाद्य सामाग्रीको संकलन गर्नु, श्रमका औजारको रूपमा हातको प्रयोग गर्नु, पारस्परिक संवाद र भावको आदान प्रदान गर्न साझा संकेत र स्वरको प्रयोग गर्नु, मानव समाज गठनको प्रक्रियामा अर्को महान क्रान्ति थियो। जसले मानवलाई पशु अवस्थाबाट सामाजिक अवस्थामा प्रवेश गराएको थियो र मानिसलाई सामाजिक सहजीवनमा आबद्ध गराएको थियो। यस्तै सामाजिक-आर्थिक संरचनाको परिवर्तनको दृष्टिकोणबाट आदिम साम्यवादी कविलाई संरचनाको विघटन र दास युगमा संक्रमण पहिलो सामाजिक क्रान्ति थियो, जसले समाजलाई वर्गीय रूपमा विभाजित गर्‍यो। तर, यो संक्रमण सर्वत्र एउटै रूपमा भयो वा स्थान र अवस्थाअनुसार भित्रभित्र रूपमा ? ठोस रूपमा भन्न सकिने अवस्था छैनन्। केही विद्वान कतिपय देशहरूमा कबिलालाई समाजको लामो विकास प्रक्रियामा त्यसभित्रै पशुपालन र आदिम खेती प्रणालीको विकासको अवस्थाले गर्दा सोझै सामन्ती प्रणालीमा संक्रमण गरेको मान्यता पनि राख्छन्।

विशेष गरी मोर्गन यो संक्रमण क्रान्तिको बाटो नभई क्रमिक विकासको बाटो भएर संक्रमित भएको मान्छन्। तर एंगेल्सले कविलाई आदिम साम्यवादी समाजको गर्भमा नै समाजको वर्गीय विभाजनको बीजारोपण भएको र यस विभाजनकै फलस्वरूप कालान्तरमा समाज वर्गीय रूपमा विभाजित भयको निष्कर्ष निकालेका छन् र सामाजिक क्रान्तिबाटै यो संक्रमण भएको मानेका छन्। (हेर्नुहोस्- परिवारको उत्पत्ति, निजी सम्पत्ति र राज्यसत्ता- एंगेल्स)। हाम्रो यस पूर्वीय क्षेत्रमा ऐतिहासिक प्रमाणिकता सहित यस्तै भएको थियो भन्न सकिने अवस्था देखिँदैनन्। घरेलु दाशहरूलाई कर्मकारको रूपमा प्रयोग गरिने कुराहरू प्राचीन हिन्दू ग्रन्थहरूमा पाइन्छ। तर, त्यो अवस्था कुन संक्रमण कालको हो त्यसको निर्क्योल सायद भविष्यका अनुसन्धाताहरूले गर्ने छन्। तर, यो संक्रमण जुन रूपमा भए पनि यसले कविलाई समाजको सामूहिक उत्पादन, सामूहिक उपभोग, सामूहिक नेतृत्वको अवस्था समाप्त गरि समाजलाई गुणात्मक रूपले नयाँ वर्गीय संरचनामा प्रवेश गराएकोले यो आफैमा सामाजिक क्रान्ति थियो। ‘सामाजिक क्रान्ति’ शब्दको मान्यता अनुसार यसमा कुनै दुई मत रहेन।

दास व्यवस्थामा उत्पादक शक्ति दास र मालिक बीचको थुमल वर्गसंघर्षले प्रस्तुत गरेको अपरिहार्य क्रान्तिकारी परिवर्तनको माग तथा आदिम कविलाई समाजबाटै सुरु भएको कृषि कर्मको विकास र दाश व्यवस्थाकै गर्भमा जन्मिएका सामन्ती सामाजिक-आर्थिक संरचनाका पूर्वाधारहरूको विकास दास व्यवस्थाबाट सामन्ती व्यवस्थामा क्रान्तिकारी संक्रमणका कारण थिए, जसले समाजलाई दाश युगबाट चारित्रिक रूपमा नै विगतभन्दा भित्र सामन्ती संरचनामा संक्रमण गरायो। यो अर्को सामाजिक क्रान्ति थियो। अझै कतिपय समाजमा त कृषिको कार्य विभाजनसँगै जमिनमाथि स्वामित्वको स्वरूप समेत आदिम साम्यवादी अवस्थाको अन्तिम कालदेखि नै प्रकट भई सकेको अवस्था पनि थियो। दास व्यवस्थाको सामाजिक-आर्थिक संरचना समाप्त गरि सामन्ती संरचना स्थापना गर्ने यो परिवर्तन अर्को सामाजिक क्रान्ति थियो।

त्यस्तै किसिमले सामन्ती संरचना भित्रै त्यस संरचनालाई समाप्त गरि पूँजीवादी क्रान्ति सम्पन्न गर्न निर्माण भएका पूर्वाधारहरूले सामन्ती संरचना समाप्त गरि पूँजीवादी संरचना स्थापित गर्‍यो। यो चौथो सामाजिक क्रान्ति थियो। अहिले अक्टोबर क्रान्तिले पूँजीवादी संरचनाको युगलाई समाप्त गरी समाजलाई समाजवादी संरचनामा प्रवेश गराएपछि पाँचों सामाजिक क्रान्तिको चरण सुरु गरेको छ। यसरी विगतको ऐतिहासिक परिवर्तनको क्रम हेर्दा आदिम साम्यवादी अवस्थासम्म प्राकृतिक अनिवार्यताले मानव जीवनमा क्रान्तिकारी परिवर्तन ल्याएको छ भने आदिम कविलाई साम्यवादको समाप्तिपछि सुरु भएको ‘हुने’ र ‘नहुने’, शोषक र शोषित, शासक र शासित, धनी र गरिबबिच विभाजित वर्गीय समाज निरन्तरका वर्गसंघर्षको कारण सम्पन्न भएका सामाजिक क्रान्तिका विभिन्न चरणका पार गर्दै आजको युगमा पुगेको छ। र, कतिपय देशहरूमा पूँजीवाद सामाजिक-आर्थिक संरचना समाप्ति गरि समाजवादी व्यवस्था कायम भएको छ भने अन्यत्र यसको प्राप्तिका लागि श्रमिक वर्ग संघर्षरत छ।

सामन्तवाद विरोधी पूँजीवादी क्रान्तिहरूमा उदीयमान पूँजीपति वर्गको भूमिका प्रगतिशील रहेको हो र यस चरणमा भोलिका उदीयमान परस्पर विरोधी पूँजीपति वर्ग तथा मजदुर वर्गले संयुक्त रूपमा सामन्तवाद विरोधी क्रान्ति सम्पन्न गरेका हुन्। श्रमिक र किसान वर्गको अग्रणीय सहभागिता विना कतै पनि पूँजीवादी क्रान्ति सम्पन्न भएको इतिहास छैन। अर्थात् विसुद्धरूपमा एक्लो पूँजीपति वर्गले पूँजीवादी क्रान्ति सम्पन्न गरेको छैन। तर, तत्कालीन आन्दोलनकारी श्रमिक वर्गको दाँजोमा ज्ञान, पूँजी, उत्पादनका साधन श्रोत, सत्ता सञ्चालकको क्षमता आदिमा पूँजीपति वर्ग बढी वर्ग सचेत र वर्गीय स्वार्थबाट निर्देशित भएकोले विस्तारै क्रान्तिको नेतृत्व तथा क्रान्तिका उपलब्धिहरू आफ्नो पक्षमा पार्दै राज्यसत्ता आफ्नो हातमा लिन सफल भयो र श्रमजीवी वर्गलाई किनारा लगाई त्यसमाथि पूँजीको दासत्व लाद्न शासक वर्ग हुन पुग्यो।

अतः आफ्नो आर्थिक, सामाजिक, राजनैतिक मुक्तिका लागि श्रमजीवी वर्गले पुनः पुँजीको दासता विरुद्ध लड्नु पर्ने अनिवार्यता सृजना भएको छ र यो संघर्ष यो अथवा त्यो रूपमा निरन्तर जारी छ। यस संघर्षमा एकाधिकार पूँजीवादी साम्राज्यवादी देशहरू तथा विकसित पूँजीवादी देशहरूमा र अल्पविकसित तथा विकासोन्मुख देशहरूमा श्रमिक आन्दोलनका वर्तमान अवस्था भित्र भए पनि सबको लक्ष एउटै हो- शोषणबाट श्रमको मुक्ति। सैन्यकृत एकाधिकारवादी साम्राज्यवादी देश तथा विकसित पूँजीवादी देशहरूमा यो आन्दोलन एकाधिकार पूँजीवादको विरुद्ध केन्द्रित छ भने विकासोन्मुख तथा अल्पविकसित देशहरूमा अझै पनि सामन्तवादका अवशेषहरू तथा अन्तर्राष्ट्रिय साम्राज्यवादी अतिक्रमण र नवऔपनिवेशिक अतिक्रमण विरुद्ध केन्द्रित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्