काठमाडौ, ४ फागुन । एनसिएल स्पोर्टस् प्रा.लिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।
नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको प्रालिले जानकारी दिएको छ ।
विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा देशका चार शहरका नामबाट चार टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ । शहर र टोली भने केही दिनपछि घोषणा गरिने प्रा.लिका अध्यक्ष जयराज रायले जानकारी दिएका छन् ।
मुलुकभित्र हुने अधिकांश प्रतियोगिता पुरुष खेलाडीका लागि मात्र केन्द्रित रहँदै आएकाले महिला क्रिकेटरलाई पनि अघि बढाउने उद्देश्यकासाथ प्रालिले महिला टि–२० लिग आयोजना गर्न लागेको उनको भनाइ थियो ।
प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेकोले केही समयपछि जानकारी दिने आयोजकले जनाएको छ ।
राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीहरुलाई प्रोत्साहन दिने र खेलको विकासमा समेत सहयोग पुग्ने बताए । क्रिकेटको विश्वकप जित्ने मुलुकमा समेत महिला लिग शुरु हुन नसकेको अवस्थामा नेपालमा खेल शुरु हुनु सुखद् भएको बताउँदै उनले यसलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् ।
राष्ट्रिय महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि महिला खेलाडी उत्साहित भएको प्रतिक्रिया दिइन् । प्रतियोगिताको शहर, टोली र खेल तालीकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिने जानकारी पाइएकाे छ ।



लाेकपाटी न्यूज

