विपरीतहरूको एकता र संघर्षको नियम 

Communists_Word_Shabda
लोकपाटी न्यूज

 यथार्थता तथा मानवचिन्तनद्वारा त्यसको ज्ञानको सार्विक नियम, जसले भौतिकवादी द्वन्द्ववादको सार, त्यसको मर्मलाई व्यक्त गर्दछ। प्रत्येक वस्तुमा विपरीतहरू हुन्छन्। विपरीतहरूबाट द्वन्द्वात्मक भौतिकवादको तात्पर्य यस्ता तत्वहरु, पक्षहरू, आदिसँग छ, जसमा १) अविच्छिन्न एकता हुन्छ, २) जसले विभिन्न सन्दर्भहरूमा मात्र होइन, बरु एउटै सन्दर्भमा पनि एक-अर्कोलाई वर्जित गर्दछन्, अर्थात् ३) परस्पर अन्तरप्रवेश गर्दछन्। विपरीतहरू एकताबिना हुँदैनन् र विपरीतहरूबिना एकता हुँदैन। विपरीतहरूको एकता सापेक्ष, अस्थायी हुन्छ, तिनीहरूको संघर्ष निरपेक्ष हुन्छ।

यो नियमले कुनै पनि प्रकारका बाह्य शक्तिहरूको सहायताबिना सम्पूर्ण गतिको वस्तुगत आन्तरिक स्रोतलाई स्पष्ट गर्दछ र स्वगतिको रूपमा गतिलाई बुझ्न सम्भव बनाउँदछ। द्वन्द्वात्मक चिन्तनले समग्रतालाई अमूर्त ढंगले विपरीतीहरुमा विभाजन गरेर विच्छेदित गर्दैन, यसको विपरीत त्यसले यसलाई एउटा सम्पूर्ण प्रणालीको रूपमा आत्मसात गर्दछ, जसमा विपरीतहरूले परस्पर अन्तरप्रवेश गर्दछन् र यसरी विकासको प्रक्रियालाई सम्भव बनाउँदछन्। यो नियममा द्वन्द्वात्मक चिन्तन र अधिभूतवादी विवेचनाको बीचमा भिन्नता सर्वाधिक सघन रूपमा अभिव्यक्त हुन्छ। अधिभूतवादी दर्शनले गतिको स्रोतको व्याख्या स्वयं गतिभन्दा भिन्न र त्यसको लागि बाह्य कुनै वस्तुको रूपमा तथा एकताको विविधताको समानान्तर विद्यमान कुनै वस्तुको रूपमा गर्दछ।

अधिभूतवादले गति तथा विविधताको ठोस एकताको स्थानमा गतिका बाह्य परिणामहरू तथा वस्तुको केवल बाहिरी रूपसँग मात्र तुलना गरिएका पक्षहरूको वर्णनको स्थापनातिर लैजान्छ। द्वन्द्ववादको सम्पूर्ण इतिहास यी समस्याहरूको वरिपरि संघर्षको तथा तिनीहरूलाई समाधान गर्ने प्रयत्नहरूको इतिहास हो। अन्तर्विरोहरुको द्वन्द्वात्मकताका प्रणेता हेराक्लिटस थिए। एलिया मत (जेनो) ले अन्तर्विरोधलाई कुनै विशुद्ध आत्मगत वस्तुहरूमा बदलिदियो र यसलाई गति तथा विविधताको प्रतिवाद गर्ने साधनमा सीमित गरिदियो (नकारात्मक द्वन्द्वात्मकता – अपोरिया)।

पुनर्जागरण कालमा विपरीतहरूको मेलको विचारलाई कूजाका निकोलस तथा बूरनोले विकसित गरेका थिए। कांटले केवल द्वैतवादी ढंगबाट कर्तालाई विषयबाट पृथक गरेर विप्रतिषेधहरुको उन्मूलन गरे। यो पृथकतामाथि नियन्त्रण प्राप्त गर्ने प्रयत्नहरूको परिणाम द्वन्द्वात्मक अन्तर्विरोधको विचार थियो (फिख्टे, शेलिंग, हेगेल)। यो विचारको विस्तारको विशेष रूपले धेरै ठूलो श्रेय हेगेललाई छ, जसले आदर्शवादका सीमाहरूभित्र अन्तर्विरोधको समस्यालाई समाधान गर्नका लागि यथाशक्ति सबै कार्य गरे। आधुनिक बुर्जुवा दर्शनमा विशिष्ट प्रवृत्तिहरू हुन् एकातिर, अन्तर्विरोधलाई असमाधेयको रूपमा (त्रासद द्वन्द्वात्मकता) अयुक्तियुक्त बनाउनु र अर्कोतिर, यो प्रवर्गलाई पूर्ण रूपले अस्वीकार गर्ने र यसको स्थानमा शब्दावली जनित भिन्नताहरूलाई स्थापित गर्ने प्रयत्न गर्नु (प्रत्यक्षवाद)।

मार्क्सवादले विपरीतहरूको एकता तथा संघर्षको नियमको व्याख्या ज्ञानको नियम र वस्तुगत जगतको नियमको रूपमा भौतिकवादी ढंगबाट गर्‍यो तथा यसको विस्तार गर्‍यो। द्वन्द्ववाद, तर्कशास्त्र तथा ज्ञानको सिद्धान्तको अनुरूपताको दृष्टिकोणले यो नियमलाई उदाहरणहरूको योग बन्न दिँदैन र यसलाई सत्ता तथा चिन्तनको सार्विक नियमको रूपमा प्रस्तुत गर्दछ। यो नियमको वस्तुगत सार्विकता ज्ञानमा यसको अध्ययन विधिको आधार हो। अन्तर्विरोधहरूको समाधानले जाँचको कार्यलाई स्वयं विषयको तार्किकताअनुसार अगाडि लैजान्छ र नयाँ अवधारणाहरू तथा तिनीहरूको संश्लेषणको विस्तार गर्ने तर्कसंगत साधन उपलब्ध गर्दछ। ज्ञानको प्रक्रियामा द्वन्द्वात्मक अन्तर्विरोध केवल स्थापना तथा प्रतिस्थापनाको टकराब होइन। यसमा तिनीहरूको समाधान गर्ने कार्य पनि सामेल छ।

द्वन्द्वात्मक अन्तर्विरोधलाई बुझ्नुको अर्थ यो बुझ्नु हो कि त्यो कसरी विकसित तथा समाधान हुन्छ। विकासको प्रक्रिया आन्तरिक तथा बाह्य विपरीतहरूका टकराबहरूको माध्यमबाट सम्पन्न हुन्छ। द्वन्द्ववादले बाह्य विपरीतहरूलाई आरम्भदेखि नै विभाजित सत्ताहरूको रूपमा होइन, बरु एकताको विभाजनको परिणाम र अन्ततः आन्तरिक विपरीतहरूबाट उत्पन्न मान्दछ। सामाजिक विकासको मार्क्सवादी धारणा समाजमा अन्तर्विरोधहरूको जाँचमा यो नियमलाई लागू गर्ने कार्यमा आधारित छ, त्यसले वर्गीय समाजको विकासको प्रेरक शक्तिको रूपमा वर्गसंघर्षसम्बन्धी पुष्टि गर्दछ र त्यसबाट आफ्नो क्रान्तिकारी निष्कर्ष निकाल्दछ।

समाजवाद पूँजीवादका अन्तर्विरोधहरूको विकास र सामाजिक क्रान्तिद्वारा तिनीहरूको समाधानको नियमसंगत परिणाम हो। अन्तर्विरोध र तिनीहरूको समाधानको विविधतापूर्ण छ। समाजवाद पनि अन्तर्विरोधहरूको माध्यमबाट विकसित हुन्छ। तर यी अन्तर्विरोधहरू विशिष्ट स्वरूपका हुन्छन्। द्वन्द्वात्मक अन्तर्विरोधको प्रवर्ग आधुनिक प्राकृतिक विज्ञानहरूको लागि धेरै महत्त्वपूर्ण छ, जसले बढीभन्दा बढी पुनरावृत्तिसहित विषयहरूको अन्तर्विरोधपूर्ण स्वरूपको सामना गर्नुपर्दछ। मार्क्सवाद-लेनिनवादले अन्तर्विरोधको प्रवर्गलाई मानिसद्वारा जगतको एकीकृत आत्मसातकरणमा आधारित दृष्टिकोणहरूको प्रणालीको एउटा अंग बनायो। मानिसको लागि अन्तर्विरोधहरूबाट भयभीत हुने वा तिनीहरूको समाधान लाई रोक्ने कुनै कारण छैन। यो नियमको विचारधारात्मक तथा भिक्षात्मक महत्त्व यसमा व्यक्त हुन्छ कि यसले विकासको कुनै चरणलाई, इतिहासको कुनै पनि उपलब्धिलाई अन्तिम नमान्ने कुरा सिकाउँदछ र मानिसलाई अनन्त सिर्जनातिर उन्मुख गराउँदछ।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्