डीपीएलमा अत्तरीयाको लगातार दोस्रो जित

dpl
लाेकपाटी न्यूज

काठमाडौं, २ फागुन । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी डीपीएलमा सिवाइसी अत्तरीयाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा अत्तरीयाले रुपन्देहीलाई ३९ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २१ रन बनायो । सुरुवात राम्रो गर्न नसकेपनि अत्तरीयाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले । जारी प्रतियोगितामा अर्धसतक बनाउने तेस्रो खेलाडी बने । १६ रनमा दुई विकेट गुमाएको अत्तरीको पारीलाई ऐरीले उकासे ।

उसका ओभर जयकिशन कोल्सावाल एक रनमा आउट भए भने सुविन्धु पाण्डे १२ रनमा आउट भएका थिए । यसपछि रित गौतमले ऐरीसँग मिलेर ५७ रनको साझेदारी गरे । रित १२ रनमा आउट हुँदा अत्तरीयाको स्कोर ७३ रन थियो । त्यसपछि सन्दिप जोरा मात्र दुई रनमा आउट भए भने दिपेन्द्र ऐरी ६७ रनमा पेभेलियन फर्किदा अत्तरीयाले एक सय सात रनमा ५ विकेट खेर फाल्यो । तर त्यसपछि भने उसका कुनैपनि खेलाडीले राम्रो साझेदारी भएन ।

उसका पुछारका खेलाडी भुवन कार्कीले खाता खोल्न सकेनन भने जितेन्द्रसिंह ठकुरीले तीन रन बनाए । यस्तै सन्नी पटेलले १२ रन जोडे ।

बलिङमा रुपन्देहीका ललित भण्डारी र विक्रम सोबले दुई–दुई विकेट लिए । जवाफमा रुपन्देहीले २० ओभरमा ८२ रनमा अलआउट भयो । अत्तरीयाको बलिङको अगाडी कमजोर सुरुवात गरेको रुपन्देहीले ४७ रन बनाउदा आठ विकेट गुमायो । उसका ओपनर प्रदिप ऐरीले १४ रन बनाए भने सन्दिप सुनारले १५ रनको योगदान गरे ।

यस्तै विनोद भण्डारीले १० रन बनाउँदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए । उसका बाबर हायात र पुनीत मेहराले खाता खोल्न सकेनन भने भिम शार्की, बसन्त रेग्मी मात्र एक–एक रनमा आउट भए । यस्तै कृष्ण कार्की दुई रनमा पेभेलियन फर्किए । उसका विक्रम सोब १४ रनमा बाहिरिए । रुपन्देहीलाई कम स्कोरमा रोक्न सन्नी पटेल, भुवन कार्की र दिपेन्द्र रावतले दुई र दुई विकेट लिए ।