काठमाडौं। सार्वजनिक वा निजी लगानीमा स्थापित हरेक व्यावसायिक संस्थाको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ। मुनाफा तर्कसंगत, न्यायोचित हुनुपर्छ। संसाधनहरूको समुचित, मितव्ययी उपयोग गर्दा पर्न आउने उत्पादन लागतमा उचित प्रतिफल जोडेर आर्जन गरिने मुनाफा नै न्यायोचित मुनाफा हो। उक्त विषयमा ग्लोबल आइएमई बैंक दृढ छ। ग्लोबल आइएमई बैंकको पछिल्लो दुई वर्षको आर्थिक पक्षबारे आज हामी यहाँ चर्चा गर्दैछौंः
अघिल्लो आर्थिक वर्षको आर्थिक अवस्था
बिग मर्जर गरेको ग्लोबल आइएमई बैंकले आव २०७६/०७७ को चैत मसान्तसम्ममा २ अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ। जनता बैंकले मंसिरसम्म ४५ करोड रुपैयाँ नाफा कमाएको थियो। यो रकम जोड्दा ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब १५ करोड रुपैयाँ हुन्छ। बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ५७ करोड ५० लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ६ अर्ब ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्षको तुलनामा ६२.७८ प्रतिशत अर्थात् २ अर्ब ३१ करोड रुपैयाँ बढी हो। गत वर्षको चैत मसान्तसम्म बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। साथै बैंकले सो अवधिमा ३ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.१४ प्रतिशत, बेसरेट ९.४१ प्रतिशत, स्प्रेडरेट ५.१८ प्रतिशत र सीसीडी रेसीयो ७९.६९ प्रतिशत रहेको छ। साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५० रुपैयाँ ६५ पैसा र मूल्य आम्दानी अनुपात १२.५० गुणा रहेको छ। यस्तै बैंकको निक्षेप २ खर्ब १ अर्ब छ भने कर्जा १ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ।
२०७७/०७८ को पहिलो त्रैमासिकको आर्थिक अवस्था
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४० दशमलव ५८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। त्यस्तै, बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ सञ्चिती रहेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६५ दशमलव ७५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो। समीक्षा अवधिमा बैंकले १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। उक्त मुनाफा रकम गत वर्षको यसै अवधिको तुलनामा ४१.५३ प्रतिशतले धेरै हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड २३ लाख ७४ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। समीक्षा अवधिमा बैंकले २ खर्ब २४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ७३ रुपैयाँ कर्जा लगानी गरेको छ। प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेको छ।
दोस्रो आर्थिक वर्षको आर्थिक अवस्था
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३१ करोड नाफा आर्जन गरेको छ। कोरोना महामारीबिच पनि ग्लोबल आइएमई बैंक लिमिटेडको बिजनेस आक्रामक देखिएको हो। समीक्षा अवधिसम्म बैंकले गरेको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३७.३२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ३ अर्ब २३ करोड आर्जन गरेको छ। यो पनि गत वर्षको तुलनामा ३६.६६ प्रतिशतले बढी हो। गत वर्ष सञ्चालन मुनाफा २ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। दोस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष ३ अर्ब ५४ करोड रुपैयाँ थियो। यो हिसाबले बैंकको व्यवसाय आक्रामक देखिएको छ।
बैंकले २ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ खर्ब १२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो। समीक्षा अवधिमा बैंकको रिजर्भको आकार भने ५.८५ प्रतिशतले घटेर ७ अर्ब ७० करोड रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ८ अर्ब १७ करोड रुपैयाँ थियो।
बैंकको खराब कर्जा दर १.२ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ भने आधार दर घटेर ६.७६ प्रतिशतमा सीमित बनेको छ। वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.७७ रुपैयाँबाट बढेर २१.४० रुपैयाँ पुगेको छ। पीई रेसियो १५.८४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.६३ रुपैयाँ रहेको छ।
ग्लोबल आइएमई तेस्रो त्रैमासिक
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३२.४० प्रतिशतले धेरै हो।
बैंकको खुद ब्याज आम्दानीको साथै अन्य स्रोतमार्फत हुने आम्दानी पनि बढ्दा उसको नाफा बढेको हो। बैंकको इम्पेरमेन्ट चार्ज घट्दा पनि उसको नाफामा वृद्धि देखिएको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३२ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले सम्भावित जोखिमबापत ३२ करोड रुपैयाँ छुट्याएको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १५ प्रतिशतभन्दा धेरैले बढेको छ भने कर्जा लगानी १७ प्रतिशतले बढेको छ। हाल २१ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब ९२ करोड रुपैयाँ छ। पूँजी वृद्धिका बाबजुद बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट बढेर २२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ रहेको छ।



लोकपाटी न्यूज

