यस्ताे रह्याे याे साताकाे सेयर बजार

Stock-market-share
लोकपाटी न्यूज

 काठमाडौं। कोभिड महामारीका बीच सञ्चालन भइरहेको नेपालको शेयर बजार यो साता ४६ दशमलव ८८ अंकले बढेको छ। गत साताको अन्तिम कारोबार दिन वैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन वैशाख ३० गते २ हजार ६८४ दशमलव शून्य १ विन्दुमा बन्द भएको हो।

साताको पाँच ओटा कारोबार दिनमा पहिलो दिन १८ दशमलव ५६ अंकले घटेको बजार बाँकी चार कारोबार दिन भने बढेको छ। साताको दोस्रो दिन २७ दशमलव ४१ अंक, तेस्रो दिन २७ दशमलव ४७ अंक, चौथो दिन शून्य दशमलव ५६ अंक र पाँचौ दिन १० दशमलव १३ अंक परिसूचक बढेको हो। बजारमा शेयर खरीद चाप बढेकाले नेप्से परिसूचक पनि यो साता उकालो लागेको हो।

देशमा राजनीतिक गतिविधिको अन्योलता र कोभिडका बीच पनि उत्साहित बनेको नेपालको शेयर बजारले राजनीतिक अन्योलताको अन्त्यसँगै अझै गति लिने विश्वास लगानीकर्ताहरुको रहेको छ। कोभिडका कारण अन्य क्षेत्रको व्यवसायिक गतिविधि ठप्प हुँदा ती क्षेत्रका लगानीहरु पनि पूँजीबजारमै भित्रिने विश्वास पनि उनीहरुले गरेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गरिरहँदा नेपालको पूर्ण अनलाईन कारोबार सेवा प्रभावकारी बनेको हो। ९० प्रतिशतभन्दा बढी शेयर कारोबार अनलाईन मार्फत नै हुँदै आएको नेप्सेले जानकारी दिएको छ। हामीले अनलाईन कारोबार र भुक्तानी गर्न नसक्ने लगानीकर्ताहरुले कारोबारमा सहभागी नहुन आग्रह गरेका छौ नेप्सेका एक उच्च अधिकारीले भने, ‘भौतिक उपस्थिति बिना मात्र सेवा प्रदान गर्न सक्ने अवस्थामा अफलाईन कारोबार सेवा दिन असमर्थ रहेका छौ।’

यो महामारीका बीच नियामक निकाय नेपाल धितोपत्र बोर्डले सम्बद्ध निकायहरुलाई थप संयमित भई सेवा दिन अनुरोध गरेको छ। बोर्डले बजार सम्बद्ध निकायहरुलाई सिस्टम सपोर्ट र सूचना प्रविधी सम्बन्धी कार्य घरबाटै गर्न भनेको छ।  सिष्टम सञ्चालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन, गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोवाइल नम्बरहरु उपलब्ध गराउन समेत आग्रह गरेको छ।

कोभिडको महामारीमा स–साना लगानीकर्ताहरुलाई दैनिक खर्च वा औषधी उपचारका लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न पनि बोर्डले भनेको छ।

यो साता नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने गत साताभन्दा कम भएको छ। गत साता ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता  २८ अर्ब ६१ करोड ६४ लाख १० हजार बराबरको मात्र शेयर कारोबार भएको हो। सातामा कारोबार रकम  ५ अर्ब ३५ करोड २८ लाख १५ हजार कम भएको हो।

कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता घटेको छ। गत साता ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएकोमा यो साता ७६ लाख ६७ हजार ८५७ कित्ता कम ६ करोड ७९ लाख ३७ हजार २८ कित्ता शेयर कारोबार भएको हो।

बजारले गति लिएसँगै नेपालको शेयर बजारको आकार अर्थात कुल बजार पूँजीकरण पनि यो साता बढेको छ। गत साता  ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन  ३७ खर्ब २४ अर्ब ५५ करोड २० लाख ८१ हजार कायम भएको छ । गत साताभन्दा यो साता शेयर बजारको आकार  ९१ अर्ब ७१ करोड ७० लाख १८ हजार बढी भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्