नेप्सेमा प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन

लोकपाटी न्यूज

काठमाडौं। आइतवार प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले कम्पनीको गत बिहीवार कायम अन्तिम शेयरमूल्य  ९७२ रुपैयाँको आधारमा मूल्य समायोजन गरी बोनसपछिको मूल्य ८८४ रुपैयाँ तोकेको हो।

कम्पनीले यस वर्ष १० प्रतिशत बोनससँगै शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ ६ गते २५औं वार्षिक साधारण सभा आव्हान गरेको छ। सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा बिहान ११ बजे आव्हान गरिएको हो। कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ। सभा प्रयोजनका लागि कम्पनीले आइतवारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बोनस पछिको मूल्य तोकेको हो।

हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ रहेको छ। सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो। लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र सामूहिक लगानीकोष योजना सञ्चालन गर्ने विषय प्रबन्धपत्रमा थप गर्ने निर्णय पनि सभाले गर्नेछ। सञ्चालक समितिका सदस्यहरुको बैठक भक्ता वृद्धि गर्ने विषय पनि सभामा छलफलका लागि तय भएको छ।

चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरीक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने निर्णय पनि सभाले गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्