लुम्बिनीका सभामुखलाई महन्थ ठाकुरको पत्र : जसपा सांसदलाई कुनै कारवाही भएको छैन

लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको बताएका छन्।बिहीबार लुम्बिनी प्रदेशका सभामुखलाई पत्र लेख्दै ठाकुरले पार्टीको केन्द्रीय कारिणी समितिबाट सांसदलाई पदमुक्त गर्ने निर्णय नभएको भन्दै पत्र पठाएका हुन्।ठाकुरले पठाएको पत्रमा लुम्बिनी प्रदेश सभा सदस्यलाई केन्द्रबाट कुनै कारवाही नभएको उल्लेख गरेका छन्।

‘लुम्बिनी प्रदेशमा पूर्व राजपा नेपाल र पूर्व सपाका प्रदेश समितिको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भई जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकाले यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ’, ठाकुरले पठाएको पत्रमा भनिएको छ, ‘साथै केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यलाई कुनै कारवाही नभएको व्यहोरासमेत अनुरोध छ।’