कार्यालयभित्र २५ जनाभन्दा बढि भेला नहुन धिताेपत्र बाेर्डकाे अनुराेध

लोकपाटी न्यूज

काठमाडौं। नेपाल धितोपत्र बोर्डले कार्यालय भित्र २५ जनाभन्दा बढि भेला नहुन अनुराेध गरेकाे छ।  कोरोना भाइरसको संक्रमण बढेसँगै सम्पूर्ण धितोपत्र बजार तथा धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सावधानी अपनाउन बाेर्डले अनुरोध गरेको हाे। धितोपत्र बोर्डले बुधवार एक सूचना जारी गरेर कोरोनाको महामारी रोकथाममा सहयोग पुर्‍याउनका लागि सुरक्षित तरिकाले कार्य सञ्चालन गर्न भनेको हो।

सोही अनुसार बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्न पनि भनेको छ। सेवाग्राही बीच दुई मिटरको भौतिक दुरी कायम हुने गरी सेवा प्रवाह गर्नुपनि बाेर्डकाे आग्रह छ। साथै बोर्डले सभा सम्मेलन, गोष्ठी,सेमिनार,बैठक, तालीम प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म अनलाइन तथा भर्चुअल माध्यमबाट गर्न भनेको छ।

सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गरी संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी परिचालन गर्ने र सेवाग्राहीको भिडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न पनि बार्डले निर्देशन दिएको हो। कोभिड – १९ को संक्रमणबाट बच्न तथा बचाउन सरकारको निर्देशन र यसअघि दिएका निर्देशनहरुको पनि पूर्ण पालना गर्न बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले नेप्से, ब्रोकर क्रेडिट रेटिङ संस्थालाई पनि यही निर्देशन दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्