काठमाडौं। नेपाल आयल निगमले १ अर्ब ७९ रुपैयाँमा नयाँ कर्पोरेट भवन बनाउने छ। हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो। भूकम्पबाट क्षति भएको भवन भत्काएर नयाँ बनाउन लागिएको निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।
‘निगमको भवन पुरानो भएको र भूकम्पले पनि क्षति गराएको हुँदा त्यसलाई भत्याएर नयाँ बनाउन लागिएको हो,’पौडेलले भने। नयाँ बन्ने कार्यालय २ तल्लाको अन्डरग्राउन्ड पार्किङ हुने छ भने १० तलाको भवन हुने छ। जमीनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र छ तलाको टावर हुनेछ।
नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तरराष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ। भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्डअनुसार रहनेछन्। बबरमहलमा नयाँ भवन बनाउने भएपछि आयल निगमले आफ्नो कार्यालय टेकुमा सार्न लागेको छ । भवन नबन्दासम्म निगमको मुख्यालय टेकुमा सर्ने छ।
२०७२ सालमा गएको भूकम्पले आयल निगमको केन्द्रिय कार्यालयलाई क्षती गरेको थियो। भूकम्प गएको ५ वर्षपछि निगमले नयाँ कार्यालय भवन बनाउन लागेको हो। निगमले भवन बनाउनको लागि बोलपत्र समेत आह्वान गरिसकेको छ।



लोकपाटी न्यूज