विभेद गरेर राष्ट्रिय एकता बलियो हुँदैन : प्रचण्ड

prachanda -11
लाेकपाटी न्यूज

धादिङ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातजाति, धर्म, वर्ग तथा समुदायलाई विभेद गरेर राष्ट्रिय एकता बलियो नहुने बताएका छन् ।

मंगलबार धादिङबेशीमा लि:ल (घले) ल्हाेसारकाे उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले जातजाति भाषा, धर्म र क्षेत्र तथा समुदायको हक अधिकार सुनिश्चित गरेर मात्र नेपालको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले वर्ग समुदायको हक अधिकारलाई पूर्णतामा लैजानका लागि संविधानलाई परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।

उनले इतिहास बिन्ती चढाएर मात्रै नपाइने बताउँदै उत्पीडन तथा विभेदमा परेकाहरु आफैं जागरुक भएर हक अधिकार माग्नुपर्ने उल्लेख गरे ।

घलेहरुले अध्यक्ष प्रचण्डलाई आफ्नो जातिलाई आदिवासी जनजातिको अनूसूचीमा समावेश गराउन पहल गरिदिन ज्ञापन पत्र बुझाएका थिए । उनीहरुलाई प्रचण्डले सहयोग गर्ने आश्वासन दिए । ‘घलेलाई जातीय रुपमा नभई थरको रुपमा प्रयोग भएको छ । विगतमा आदिवासी जनजातिको अनुसुचीमा सुचीकृत गर्दा तपाईहरुमाथि अन्याय भएको रहेछ भन्ने मैले पाएँ,’ अध्यक्ष प्रचण्डले भने, ‘नेकपामा, सरकार र सदनमा म घलेलाई आदिवासी जनजातिको अनूसुचीमा सुचीकृतका गराउन पहल गर्नेछु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्