आइओसीले पठाएअनुसारै पेट्रोलियम पदार्थको भाउ बढाइएको हो : निर्देशक पौडेल

लोकपाटी न्यूज

काठमाडौं। यस पटक पेट्रोलियम पदार्थमा हप्तामै दुई पटक मूल्य वृद्धि भयो। माघ २८ गते डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रूपैयाँ बढ्यो। एक साता नहुँदै फागुन ४ गते डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनमा २/२ रूपैयाँ बढायो।

निगमले गरेको मूल्य वृद्धिको चौतर्फी विरोध भइरहेको छ। यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहने हो भने गाडीको भाडा बढाउने चेतावनी दिएका छन्। नेपाल विद्यार्थी संघले मूल्य वृद्धिको भोलिपल्टै त्यसविरूद्ध प्रदर्शन गरेको थियो।

हप्तामा दुई पटक नभई आइओसीले पठाएको मूल्य अनुसारै मूल्य वृद्धि गरेको आयल निगमका निर्देशक सुरेन्द्र पौडेलले बताए। ’हप्तामा दुई पटक मूल्य बढेको होइन। समय त्यस्तो परेको मात्रै हो,’ उनले भने, ’१ तारिकमा बढाउनुपर्नेमा बढाइएको थिएन, अलि पछि बढाएको हो।’

उनका अनुसार आइओसीबाट १ तारिकमा मूल्य बढेर आएको थियो। तर अर्को पटक तुरून्त घटेर आउँछ कि भनेर मूल्य बढाइएन। तर पछि पनि बढेर नै आउने देखिएपछि निगमले १ तारिक (माघ १९) मा बढाउनु पर्ने तेलको मूल्य १० तारिक (माघ २८) गते बढाएको उनको भनाइ छ।

त्यसपछि १५ तारिकमा फेरि मूल्य बढेर आयो। त्यसैले १६ तारिकबाट लागू हुने गरेर फेरि मूल्य बढाइएको उनले बताए। ’१ तारिकमा नबढाएर १० मा बढायौं, फेरि १५ तारिकमा बढेर आएपछि १६ तारिकमा पनि बढायौं,’ उनले भने, ’हामीले ट्रेन्ड हेरेर घट्ने नदेखेपछि मूल्य बढाएका हौं।’

अहिले अन्तर्राष्ट्रिय बजारमा दैनिक एक प्रतिशतदरले पेट्रोलियम पदार्थको मूल्य बढेको उनी बताउँछन्। अहिले मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा ८५ करोड रूपैयाँ घाटा हुने उनले बताए।

’अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेको छ। आइओसीले पठाएको मूल्यअनुसार त हामीले ७र८ रूपैयाँ बढाउन पर्ने हो,’ उनले भने। पेट्रोलियम पदार्थको मूल्य रहरले नभई बाध्यताले बढाएको उनको भनाइ छ।

’हामीसँग मूल्य स्थिरीकरण कोषमा ३ अर्ब रूपैयाँ छ। अघिल्लो वर्ष कमाएको १३ अर्ब रूपैयाँ छ,’ निर्देशक पौडेलले भने, ’हामीले मूल्य समायोजन नगर्ने हो भने त्यो पैसा पनि केही महिनामै सकिन्छ। त्यसपछि निगम कसरी चलाउने, परियोजनाहरू कसरी अघि बढाउने ?’

उनका अनुसार निगमले पेट्रोल प्रतिलिटर ५३ रूपैयाँ ९७ पैसा र डिजेल ५५ रूपैयाँ १५ पैसामा किनेको छ। त्यस्तै पेट्रोलमा ५४ रूपैयाँ ९८ पैसा र डिजेलमा ३७ रूपैयाँ ६२ पैसा कर तिर्दै आएको छ।

अहिले २ रूपैयाँ बढाउँदा पनि पेट्रोलमा ५ रूपैयाँ ८२ पैसा, डिजेलमा ४ रूपैयाँ १३ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३ सय २३ रूपैयाँ नोक्सान भएको उनले बताए।आठ महिनाअघिको मूल्यसँग तुलना गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा अहिले पेट्रोलियम पदार्थको मूल्य दोब्बर भएको उनले जानकारी दिए।

तेल उत्पादन गर्ने देशले उत्पादन कटौती गरेका कारण अन्तर्राष्ट्रियस्तरमै मूल्य बढेको उनले बताए। ’यो अन्तर्राष्ट्रियस्तरमै तेलको राजनीति हो। अहिले तेलको माग बढेको छ तर उत्पादन कम छ। डलरको मूल्य नघटेको भए हामी झन् घाटामा हुन्थ्यौं,’ निर्देशक पौडेलले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्