काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ। नेप्सेले २५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २ हजार ६७८ तोकेको छ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य ३ हजार ३४८ को आधारमा शेयरमूल्य समायोजन भएको हो। कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।
कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २१ गते ८औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सभा आफ्नै केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा बिहान ११ बजे बोलाएको हो।
हाल कम्पनीको चुक्तापूँजी ५० करोड ४ लाख १५ हजार छ। सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।



लोकपाटी न्यूज