शेयर मार्केटको १० कित्ताको प्रावधान हटाउनु हुँदैन

Stock-market-share
लोकपाटी न्यूज

सेयर विश्लेषकहरुले एउटै व्यक्तिले धेरैको नाममा अनधिकृतरुपमा सेयर आवेदन गर्ने ‘बोरे’ प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। सेयर बजारमा अझै पनि एउटै व्यक्तिले दर्जनौंको नाममा सेयर हाल्ने गरेको र त्यसलाई नियन्त्रण गर्न आवाज उठिरहेको बेला सेयर विश्लेषक छोटेलाल रौनियारले पनि यसलाई कानुनीरुपमा र प्रविधिको माध्यमबाट नियन्त्रण जरुरी रहेको बताएका छन्।

उनका अनुसार, ‘पहिला प्रविधिको प्रयोग नहुँदा जुन ढंगबाट एउटैले सयौंको नाममा सेयर भर्ने प्रवृत्ति थियो, त्यस्तो छ अहिले छैन जस्तो लाग्छ। तर पनि समस्या छ। यस्ता कुराहरुलाई निरुत्साहित गर्न सकियो भने अरु सर्वसाधारण मानिस, जो सेयर बजारमा लगानी गर्न चाहान्छन्, उनीहरुलाई प्रोत्साहन मिल्छ।’

उनले सेयर बजारमा धेरैभन्दा धेरै न्यून आयस्तरका मानिसहरुलाई आकर्षण गराउन प्रयास गर्नुपर्ने पनि बताए। त्यसका लागि यस्ता ‘बोरे’ प्रवृत्तिमा कडाई गर्ने र १० कित्ताको प्रावधान हटाउने जस्ता अनुचित कुरा गर्न नहुने उनको विचार छ। १० कित्ताको प्रावधान हटाएर ५० कित्ता गर्दा सीमित वर्गले मात्रै फाइदा लिने रौनियारको भनाई छ।

अनलाइन प्रविधिबाट सेयर आवेदन गर्न मिल्ने प्रणाली सुरु भएपछि ‘बोरे’ प्रवृत्ति नियन्त्रणमा आउने धेरैको विश्वास थियो। तर, सेयर बजारबाट राम्रो फाइदा निकाल्न पल्किएको समूह अझै पनि यस्तो धन्दामा सक्रिय रहेको छ। रौनियार भन्छन्, ‘आफ्नो घरपरिवारको सदस्यहरुको नाममा आईपीओ भर्ने कुरा स्वाभाविक हो। तर, अरु व्यक्तिहरुको नाममा आईपीओ भर्ने कुरा जायज मान्न सकिन्न्।

नेपाल धितोपत्र बोर्ड, सिडिएससी एण्ड क्लियरिङ हाउस, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०समेतले यो प्रवृत्ति रोक्ने प्रक्रिया अघि बढाएको बताएको त्यसरी सेयर आवेदन भर्नेहरुको आफूहरुले निगरानी गरिरहेको बताएका थिए। तर, अहिलेसम्म कुनै पनि व्यक्तिलाई कारवाही भने हुन सकेको छैन्।

साथै, ‘बोरे’ प्रवृत्ति नियन्त्रणका लागि ई–केवाईसी कार्यान्वयन गर्ने भनिए पनि धितोपत्र बोर्डले अहिलेसम्म विनियमावली बनाउन सकेको छैन्। बोर्डका अध्यक्ष भीष्मराज ढंगानाले सोसम्वन्धी विनियमावली सिडिएससीलाई पठाई सकेको गत महिना जानकारी दिएका थिए । सिडिएससीले ई–केवाईसी कार्यान्वयनका लागि आवश्यक पर्ने प्रविधि खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्