काठमाडौं। कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरुलाई बिक्री गरिन्छ। यसरी कम्पनीको पुँजीको विभाजित इकाइको दस्तावेजलाई शेयर भनिन्छ। कम्पनीको लागि पुँजी जम्मा गर्न शेयर जारी गरिन्छ। शेयर, पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा शेयरधनीबीच करार हुने गर्दछ।
शेयरमा लगानी गरेवापत शेयरधनीहरुले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन्। कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ। आफूले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश शेयर हो।
संस्थापक शेयर वा अग्राधिकार शेयर
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ। अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो। जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलविद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो। तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराइयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो।
यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफूले कबुल गरेको रकम बराबरको सेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार शेयर भनिन्छ। कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ, यसमा निश्चित स्थिर बोनस हुन्छ। सञ्चालक समितिमा यो शेयरधनीको बहुमत रहने गरी सञ्चालक समिति गठन हुन्छ।
साधारण शेयर
संस्थापकहरुले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सिर्जना हुन्छ। त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ। साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाइएको शेयर हो। सामान्यतः १ कित्ता शेयरको मूल्य रु. १०० हुन्छ। सामान्यतः सर्बसाधारणलाई ५० कित्तादेखि माथि शेयर हाल्ने अवसर दिइन्छ। कम्पनी बिघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने शेयर साधारण शेयर हो।
शेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ। त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको शेयर सर्वसाधारणमा निस्काशन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ। यी दुई संस्थाको वेभसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदैछ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन्।
कसरी किन्ने शेयर ?
आइपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निस्कासन गर्छन्। यो आह्वानपत्रमा कम्पनीले कति शेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ। आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ। आह्वानपत्र राम्ररी अध्ययन गर्न सक्नेले त्यहीँबाट पनि कम्पनीको धेरै जानकारी पाउँछ।
यस्तो आह्वानपत्र धितोपत्र बोर्डबाट स्वीकृत भएको हुँदा लगानीकर्ता विश्वसनीयतामा भर पर्न सक्छन्। आह्वानपत्रमा उल्लेख भएको शेयर बिक्री प्रबन्धक वा तोकिएका सङ्कलन केन्द्रबाट सेयरमा लगानी गर्न फारम पाइन्छ। फारममा लगानीकर्ताले कति कित्ता शेयर लिन चाहेको हो, उल्लेख गरेर आफ्नोबारेमा मागिएको जानकारी पनि भर्नुपर्छ। शेयर फारममा हस्ताक्षरसमेत गर्नुपर्ने हुन्छ। पछि नगद फिर्ता लिँदा हस्ताक्षर मिल्नुुपर्ने भएकाले स्पष्ट र चल्तीकै हस्ताक्षर गर्नुपर्छ।
बैंक खाता अनिवार्य
फारम भर्नेको बैङ्क खाता अनिवार्य हुनुपर्ने व्यवस्था छ। मागेको भन्दा कम शेयर परेमा वा शेयर नपरेमा त्यही खातामा रकम जम्मा गर्न मिल्ने गरी बिक्री प्रबन्धकले एकाउण्टपेयी (अर्थात् खातामै रकम जाने) चेक जारी गरिदिन्छ। फारम भर्न जाँदा आफ्नो पासपोर्ट साइजको दुईप्रति फोटो र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ। सक्कल नागरिकता प्रमाणपत्रसमेत सङ्कलन केन्द्रमा देखाउनुपर्ने भएकाले साथमै बोक्नुपर्छ। निश्चत सीमाभन्दा बढी रकमको शेयर माग गर्दा आम्दानीको स्रोत उल्लेख गर्नुपर्ने हुन्छ भने एकाउण्टपेयी चेकबाटै भुक्तानी दिनुपर्छ।
आवेदन गरेको शेयरको बाँडफाँट निस्काशित शेयरको आधारमा ४० देखि ७० दिन लाग्छ। शेयर बाँडफाँट भएपछि लगानीकर्ताले कति शेयर पाए भन्ने यकिन हुन्छ। पाएको शेयरको प्रमाणपत्र र माग गरेर पनि नपाएको शेयरको रकम फिर्ता भने सङ्कलन केन्द्र वा बिक्री प्रबन्धकबाटै पाउन सकिन्छ। माग गरेर पनि भनेजति शेयर नपाएकाले त्यो रकमबापतको ब्याज पनि पाउँछन्। तर, यस्तो ब्याज भने जम्मा २ प्रतिशत मात्र पाइन्छ। कतिपय बैङ्क तथा वित्तीय संस्थाले भने आफ्नै शेयरमा लगानी गर्नेलाई लक्षित गरेर शेयरधनी खाता पनि सञ्चालनमा ल्याएका छन्। कम्पनीले मागभन्दा कम शेयर पर्नेलाई रकम फिर्ता दिनुपरेमा आफैले त्यो खातामा रकमसमेत राखिदिने र भविष्यमा दिने नगद लाभांश पनि जम्मा गरिदिने गर्छन्। यो खातामा रकम हालिसकेपछिको ब्याजदर भने केही बढी हुन्छ।
नेप्सेमा कारोबार
शेयर बाँडफाँट गरेको ३० दिनभित्र कम्पनीले आफ्नो शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर सूचीकरण गराउँछन्। त्यसपछि लगानीकर्ताले (जलविद्युत् जस्ता कम्पनीले स्थानीय बासिन्दा वा यही समूहका लागि जारी गरेको शेयरबाहेक) शेयर कारोबार गर्न सक्नेछन्। कुनै पनि कम्पनीको पहिलोपटकको काराबोरका लागि नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्म रकम तोकिदिन्छ। त्यसपछिको मूल्य भने बजारमा रहेको माग र आपूर्तिअनुसार नै निर्धारण हुन थाल्छ।



लोकपाटी न्यूज