काठमाडौं। विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका राइड सेयरिङ एप पठाओका असन्तुष्ट चालकहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन्। आफूले अघि सारेको विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् ।
पठाओ चालकहरूबाट अहिले कम्पनीले भाडाको २० प्रतिशत रकम कमिसनको रुपमा लिने गरेको छ।
धेरै कमिसन लिँदा आफूहरू मारमा परेको भन्दै राइडरहरूले कमिसनलाई ८ प्रतिशतसम्म झार्नुपर्ने माग राख्दै उनिहरु आन्दोलनमा थिए। कम्पनीले आफु खुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कम्पनीले कामदार मार्ने काम गरेको पठाओ राइडरहरुको आरोप छ । कम्पनीले आफुखुसी मनलागेको मान्छेलाई सस्पेन्ड (निस्कासन) समेत गर्ने गरेको उनिहरु बताउदै आएका थिए।
उनीहरु कमिसन घटाउन माग गर्दै अघिल्लो सोमबार कम्पनीलाई ज्ञापनपत्र दिएका थिए । अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीलाई दबाव दिँदै आएका छन् । अहिले कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ ।
राइडरहरुले विविध ११ बुँदे माग राखेर आन्दोलन चर्काइरहेका बेला ‘पठाओ’ ले भने ‘राइडरहरुको अनावश्यक होहल्ला’ भन्दै उनीहरुका मागको उपेक्षा गर्दै आएको थियो । कम्पनीको नीति, नियम र अनुशासनमा नरहेका र केही उच्छृङ्खल तत्त्वहरुले कम्पनीलाई बदनाम गर्न लागेको उसको प्रतिक्रिया दिएका थिए।



लोकपाटी न्यूज