पाँच वर्ष अघि नै विश्वको ठूलो अर्थतन्त्र बन्दै चीन

लोकपाटी न्यूज

एजेन्सी। अमेरिकालाई पछि पार्दै चीन २०२८ मै विश्वकै ठूलो अर्थतन्त्र बन्ने भएको छ । यस अघि अनुमान गरिएभन्दा पाँच वर्ष अगाडि नै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने भएको हो ।

सापेक्षित रुपमा चीनले कोभिड–१९ को कुशल व्यवस्थापन गरेका कारण उसको अर्थतन्त्र अमेरिका र यूरोपको तुलनामा तीव्र गतिमा विकास हुने बेलायतस्थित सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्चले जनाएको छ ।

यसैगरी सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थव्यवस्था बन्नका लागि तयार भएको बताइएको छ।

कोभिड–१९ महामारी र आर्थिक आदान–प्रदानमा आएको गिरावटले अमेरिकाको सट्टा चीनलाई फाइदा पुगेको छ ।

महामारीप्रति चीनको चलाखीपूर्ण व्यवस्थापनले पश्चिमा मुलुकको तुलनामा चीनको आर्थिक भूमिकामा सुधार आएको सीईबीआरले जनाएको छ।

सन् २०२१ देखि २०२५ को बीचमा चीनको अर्थतन्त्र वार्षिक औसत ५.७ प्रतिशतले बढ्ने क्रममा रहेको छ । सन् २०२६ देखि २०३० को बीचमा भने वार्षिक औसत वृद्धिदर सुस्ताएर ४.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

सन् २०२१ मा अमेरिकी अर्थतन्त्र महामारीको प्रभावबाट उब्रिएर तीव्र दरमा बढेपछि सन् २०२२ देखि २०२४ को बीचमा औसत वार्षिक वृद्धिदर १।९ प्रतिशत रहने र त्यसपछिका वर्षहरुमा १.६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

विश्व अर्थतन्त्रमा चिनियाँ अर्थतन्त्रको हिस्सा २००० को ३.६ प्रतिशतबाट बढेर २०२० मा १७.८ प्रतिशत पुगेको छ। तर यो वर्ष चीनको जीडीपी २ प्रतिशतले वृद्धि भएको अवस्थामा अन्य ठूला अर्थतन्त्रहरुको भने ऋणात्मक हुने देखिन्छ।

सन् २०३० को दशकको शुरुमा भारतले नउछिन्दासम्म जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा रहने र जर्मनी भने चौथौंबाट पाँचौं स्थानमा झर्ने बताइएको छ । अहिले पाँचौं ठूलो अर्थतन्त्रको रुपमा रहेको बेलायती अर्थतन्त्र सन् २०२४ देखि छैठौं स्थानमा सीमित बन्ने सीईबीआरले उल्लेख गरेको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्