वीरगंज। कोरोना महामारीको कारण अर्थतन्त्र प्रभावित भइरहँदा पनि पोहोरको भन्दा चालू आर्थिक वर्षमा वीरगंज नाकाबाट भित्रिने सवारी साधनको संख्यमा वृद्धि देखिएको छ ।
गत आर्थिक वर्षको १२ महिनामा १ लाख ५२ हजार १ सय ७२ वटा मालबाहक तथा नयाँ सवारी साधन भित्रेका थिए भने चालू आवको पछिल्लो ५ महिना अर्थात् साउनदेखि मंसिरसम्ममा ८२ हजार ५९ वटा गाडी भित्रिसकेको बताइएको छ ।
वीरगंज–१७ अलौमा सञ्चालित एकीकृत जाँच चौकी (आईसिपी) सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति आईसिपी शाखाका प्रमुख कमल ज्ञवालीका अनुसार पोहोरको भन्दा मालवस्तुको आयातमा पनि वृद्धि भएकोले सवारी सधान भित्रिने संख्यामा वृद्धि भएको बताए ।
उनले यस वर्षको १२ महिनामा पोहोरका तुलनामा १० हजारभन्दा बढि गाडीहरु भित्रिने अनुमान गरे।
गतवर्ष एलपी ग्यासको १४ हजार ३ सय ९५ वटा, पेट्रोलको ९ हजार ३ सय २, डिजेलको ३ हजार ३ सय ५० र १ लाख २४ हजार ५ सय २५ वटा अन्य किसिमको गाडी भित्रिएको थियो ।
गत वर्ष १ लाख ३५ हजार १७ वटा गाडी भारतबाट आईसिपीको बाटो आएको थियो भने १७ हजार १ सय ५५ वटा गाडी नेपालबाट भारततर्फ गएको थियो ।
गत वर्ष नेपाल इन्टरमोडेलले २० करोड ८९ लाख २४ हजार राजस्व संकलन गरेको थियो । चालू आवमा कोरोनाका कारण केही राजस्व छुट दिइएकोले राजस्व संकलन कम भएको बताए ।
उनले कोरोना महामारीको कारण गत चैत २८ देखि जेठ ५ सम्म १ करोड ४८ लाख ६१ हजार रुपैयाँ व्यवसायीलाई छुट दिइएको जानकारी दिए। चालू आवको पछिल्लो ५ महिनामा १४ करोड ५१ लाख १४ हजार राजस्व संकलन गरेको छ ।
चालू आवको साउनदेखि मंसिरसम्म ८२ हजार ५९ गाडीमा ७४ हजार ५ सय ७६ गाडी आयात भएको थियो भने ७ हजार ४ सय ८३ गाडी भारततर्फ मालवस्तु लिएर निर्यात भएका थिए ।
चालू आवको पछिल्लो ५ महिनामा ५ हजार ८ सय ४ वटा एलपी ग्याँस बुलेट, ४ हजार १ सय ९३ वटा पेट्रोल टयांकर, मट्टितेलको १ सय ९९ वटा तथा ६४ हजार ३ सय ७८ वटा अन्य किसिमको सवारी साधन भित्रेको नेपाल इन्टरमोडेल यातायात विकास समिति आईसिपी शाखाका प्रमुख ज्ञवालीले जानकारी दिए।



लोकपाटी न्यूज