सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री कँडेलले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिने भन्दै उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री कँडेलले शनिबार पत्र दर्ता गराएका हुन्।
उनले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन्। मुख्यमन्त्री कँडेलले अब नेपाली काँग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्दैछन्। शुक्रबार काँग्रेसका तर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि उनले शपथ गराएका छैनन्।
यसअघि माओवादी केन्द्रसँगको गठबन्धनमा सरकार गठन भएपछि पहिलो पटक विश्वासको मत लिएका मुख्यमन्त्री कँडेलले काँग्रेस र एमालेको गठबन्धन बनेपछि सोही अनुसार कर्णाली प्रदेशसभामा दोस्रो पटक विश्वासको मत लिँदैछन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्छ। प्रदेशसभामा कँडेलको दल नेकपा एमालेका १० सांसद छन् भने उनलाई समर्थन गर्ने दल नेपाली काँग्रेसका १४ सांसद छन्।



लोकपाटी न्यूज
