विप्लव काफ्ले/ स्पेन, १८ साउन। लोक गायक विष्णु खत्रीले स्पेनको बार्सिलोनामा धमाका मच्चाएका छन्। बार्सिलोनास्थित गान्धी क्याम्प नौ रेष्टुरेन्ट एण्ड बारमा नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना गरेको रमाइलो सांगीतिक कार्यक्रमञ मा खत्रीले पञ्चेबाजा, सालैजोको याद दिलाएका छन्। प्रवासी नेपालीहरु छमछमी नाचेका थिए।

जीन्दगानी कर्कलो पानी हो, हेर्दाहेर्दै ढल्केरै जानी हो भन्दै माहोल तताएका थिए। गायक खत्रीले ३ घण्टा बढी गीत गाए। उनका नयाँ पुराना गीत गुनगुनाउदै दर्शकहरु रमाइरहेका थिए। कहिले होला भेट भन्दै गए धेरै वर्ष, धेरै पछि भैयो भेट मनमा लाछ हर्ष भन्दै लाहुरेको कहानी समेटिएको लाहुरेदाई छुट्टीमा आको गीतमा हुटिङ बढेको थियो। परदेशी, प्रेमीका कथा, गाउँ भीरपाखा सम्झाउँदै गायक खत्रीले गीत गाइरहेका थिए। मिहेनति भरिया दाइको दुस्ख पनि पोखे। डाडैनिर सिरिसिरि चिसो बतास आउँदा, चौतारीमै निदाउछु सारै थकाइ लाउँदा, ठुलाठुला सपना देख्छु सुखैसुख पाको, बिउँझी हेर्दा बढेमानको भारी छेउमा भाको, भरिया दाइले बिसाउने भारी, सुनमाया डाडैको चौतारी गीतमा सबै दर्शक एकसाथ नाचे। प्रेमीका सम्झदै उनले गलकोटमा वग्यो दरम गीत गाए। सँगै जीवन विताउने बेलामा छुट्टीने कर्म रहेको दुःख पोखे ।
बार्सिलोना संसारका पर्यटक घुम्न आउने मुख्य गन्तव्य पनि हो। नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले गायक खत्रीका गीतले नेपालको याद दिलाएको टिप्पणी गरे। नेपालकै चौतारीमा बसेर गीत हेरेजस्तो भो, उनले भने, नेपाली मौलिक भाका कहिल्यै पुराना नहुने रहेछन्। नेपाली जनप्रगतिशील मञ्च युरोपका उपाध्यक्ष गंगाप्रसाद भुषालले नेपाली लोकभाकाले नेपालीपन झन बढाएको बताए। युरोप महासचिव अर्जुन आचार्यले प्रवासीहरु नेपाली कला, संस्कृति जगेर्ना गर्न सदैव अग्रसर बनेको तर्क गरे। एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाले लोकभाकाले नेपालीबीच एकताको भाव बढाएको अनुभूति भएको बताए। पूर्व अध्यक्ष शालिग्राम डुम्रेले नेपाली भाका सहितको कार्यक्रम हरेक नेपाली रेष्टुरेन्टमा वर्षेनी गर्ने अभियान चलाउनुपर्ने बताए।
एनआरएनएका निवर्तमान आइसीसी सदस्य दिनेश कुमार गिरीले नेपाली जहाँ पुगेपनि नेपालको माया भुल्न नसक्ने बताए। जनप्रगतिशील मञ्च स्पेनका महासचिव धिरज सापकोटाले कार्यक्रम भव्य रुपमा सफल भएको बताए। बाग्लुङ समाज, क्षेत्री समाज, चितवन समाज, कास्की समाज, तमु समाज बार्सिलोना, मोना स्पेन, पर्वत समाज, एनआरएनए स्पेन लगायतका पदाधिकारी सहित बार्सिलोना आसपास रहेका प्रवासी नेपालीहरु सहभागी भएका थिए। गायिका सुमित्रा घिमिरे सापकोटा (सुमी) ले जाउ न माया पोखरा घुम्नलाई भन्दै गाएको गीतमा तालि पाइन्। बार्सिलोना फुटबल क्लब नजिकै ३ नेपालीले खोलेको सुविधासम्पन्न रेष्टुरेन्टमा कार्यक्रम भएको हो। रामेछापका दिनेश गिरी, पोखराका शंकर बराल र दिपक बस्नेत मिलेर रेष्टुरेन्ट खोलेका हुन्।



लोकपाटी न्यूज

