लोक गायक विष्णु खत्रीले स्पेनको खावियामा छमछमी नचाए

bishnu-khatri
लोकपाटी न्यूज

विप्लव काफ्ले/ स्पेन, १५ साउन। चर्चित लोक गायक विष्णु खत्रीले स्पेनको कोष्टाव्लाङ्काको खावियामा प्रवासीहरुलाई छमछमी नचाएका छन्। युरोप यात्रामा रहेका खत्रीले नेपाली मौलिक भाका मार्फत नेपालीहरुलाई मनोरञ्जन दिएका हुन्।

खाबियाको विन्दिया रेष्टुरेन्टमा कोष्टाव्लाङ्का निवासी नेपालीहरुले आयोजना गरेको सांगीतिक कार्यक्रममा खत्रीले एक दर्जन बढी गीत गाएका थिए।मौलिक पञ्चैबाजाको गीत धवलागिरीको, भरिया दाई, दुना टपरी, घर त बाग्लुङ गलकोट तिर हो, सालैजो भाका लगायतका गीत गाएका थिए।

pic-2

कोष्टाव्लाङ्का निवासी नेपालीहरुले उनलाई भव्य सम्मान समेत गरेका छन्। नेपाली जनप्रगतिशील मञ्च युरोपका सदस्य केशर बहादुर थापाले गायक खत्रीका गीतहरुमा देश-परदेशका दुख सुख समेटेर जीवन्त बनेको बताए। उनका गीतहरु कहिल्यै पुराना हुँदैनन्, सधैं नयाँ जस्तै लाग्छन्, उनले भने, ‘लोक संस्कृति जगेर्ना गर्न जीवन्त गीतहरुलाई प्राथमिकता दिएर कलाकारलाई प्रोत्साहन गर्नुपर्छ।’

नेपाली जनप्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष तथा एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेलले स्पेनका नेपालीहरुले नेपाल सम्झाउने गतिविधि गर्दै आइरहेको बताए। पर्यटन प्रवद्र्धन, कलाकारको प्रोत्साहन गर्न एकजुट हुँदै आएका छौँ, उनले भने, ‘गायक विष्णु खत्रीका गीत प्रत्यक्ष सुनेर रमाएका छौँ।’

नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काका अध्यक्ष बालकुमार बुढाले परदेशमा रहेका नेपालीले नेपाली लोक, संस्कृति जोगाउन बेलाबखत सांगीतिक कार्यक्रम गर्दै आइरहेको बताए। परदेशमा रहेपनि नेपाली भाकाहरु भुलेका छैनौँ, उनले भने, ‘अग्रज गायक खत्रीको सांगीतिक कार्यक्रमले नेपालीहरुलाई उर्जा थपेको छ।’

गायक खत्रीलाई कोष्टाव्लाङ्कामा रहेका विभिन्न नेपाली संगठनहरुले सम्मान गरेका थिए। खत्रीले यहि अगष्ट १ (साउन १७) मा बार्सिलोनामा सांगीतिक प्रस्तुति दिंदैछन्। अगष्ट ३ मा पोर्तुगलको जम्बुजिरा, अगष्ट ५ मा बेल्जियम लुवेनमा पुग्नेछन्। पोर्तुगल, माल्टा, फिनल्यान्डका केही सांगीतिक कार्यक्रम गरिसकेका छन्।

कार्यक्रममा एनआरएनए स्पेन उपाध्यक्ष सुरेन्द्र भुजेल थापा, सदस्य रितेश श्रेष्ठ, एनआरएनए स्पेन क्षेत्रगत सचिव सन्तोष अर्याल, नेपाल एशोसियसन कोष्टाव्लाङ्काका पूर्व अध्यक्ष विनोद शेरचन, कोपिला फाउन्डेसनका संस्थापक अक्कल बहादुर बोहरा, एनआरएनए कोष्टाव्लाङ्काको पूर्व अध्यक्ष दिनेश सापकोटा, नेपाल समाज एशोसियसनका संरक्षक विपिन बुढाथोकी, एशोसियसन कोष्टाव्लाङ्का महिला संयोजक स्मृति गौतम, एनआरएनए स्पेन पूर्व उपाध्यक्ष सृजना लामिछाने, नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका सचिव दुर्गाराज भण्डारी लगायतले गायक खत्रीलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्