स्पेन। स्पेनमा नेपाली गायक-गायिकाले धमाका मच्चाउने भएका छन्। नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना गरेको रमाइलो सांगीतिक कार्यक्रममा लोकदोहोरी गायक तथा स्रजक विष्णु खत्री, गायिका सुमित्रा घिमिरे सापकोटा (सुमी) ले विशेष प्रस्तुति दिनेछन्।
मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले नेपाली मौलिक लोकभाका प्रवद्र्धन गर्दै नेपाली कला, संस्कृति जगेर्ना गर्न कार्यक्रम गरिएको बताए। स्पेनमा रहेका नेपाली र घुम्न आएका विदेशीहरुको जमघट हुने अपेक्षा गरेका छौँ, उनले भने,नेपाली लोकदोहोरीको स्वाद स्पेनबाटै विदेशीले पनि लिनेछन्।
कार्यक्रम अगष्ट १ (साउन १७) मा हुनेछ। बार्सिलोनास्थित गान्धी क्याम्प नौ रेष्टुरेन्ट एण्ड बारमा कार्यक्रम हुनेछ। बार्सिलोना फुटबल क्लब नजिकै सांगीतिक कार्यक्रम हुन लागेको हो। रामेछापका दिनेश गिरी, पोखराका शंकर बराल र दिपक बस्नेत मिलेर खोलेको सुविधासम्पन्न नयाँ रेष्टुरेण्टमा कार्यक्रम हुँदैछ। साँझ ५ बजेदेखि राति साढे ११ बजेसम्म दोहोरी जम्नेछ। नेपाल घुम्न समेत दोहोरीबाटै अनुरोध गर्ने तयारीमा गायक-गायिका रहेका छन्।
अभाव, गरिबी, बेरोजगारी, छुवाछूतविरुद्ध थुप्रै गीत निकालेका विष्णु खत्रीका भरिया दाइले बिसाउने भारी, जम्मु कास्मिरमा, दुना टपरी लगायतका गीतहरु निकै चर्चामा छन्। विष्णुले दशै तिहार, परदेशीका पीडाहरु समेटिएका धेरै लोकगीत गाएका छन्।
गायिका सुमित्राले मन छुने धेरै विरहका गीतहरु गाएकी छन्। घाइते मुटु, झुक्यायो ढाका टोपीले, माछा पानीमा लगायतका गीतहरु चर्चामा रहेका छन्। स्पेनमै रहेकी सुमित्राले मै छोरी परदेशी गीत निकालेकी छन्। यहि तीजमा फेरि मै छोरी परदेशी भाग २ पनि निकाल्दै छन्। विष्णु र सुमित्राको दोहोरीमा बार्सिलोना रमाउने आयोजकको दावी छ। कार्यक्रम निस्शुल्क हेर्न पाइने व्यवस्था मिलाइएको छ।



लोकपाटी न्यूज

