काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली सिनेमा ‘मोदीबेनी’ को पहिलो गीत सार्वजनिक भएको छ। सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो।
गीतमा नायिका वर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठलाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरूको प्रेमको सुरुवात र रोमान्स भिडियोमा देख्न सकिन्छ। यो गीतमा एसडी योगी र विज्ञान पराजुलीको आवाज रहेको छ। यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।
नवनायक श्रेष्ठले अनुभवी नायिकासँग सहकार्य गर्दा धेरै कुरा सिक्ने अवसर मिलेको बताए। साथै, उनले कलासहितको अभिनेता बन्ने लक्ष्य रहेको बताए। नायिका वर्षाले नायक अमरको कामको तारिफ गरिन्। यस फिल्मबाट आफू निकै आशावादी रहेको बताइन्।
कार्यक्रममा चलचित्रका निर्देशक शङ्कर कोइराला, निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ, चलचित्रका अन्य कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायतको उपस्थिति थियो। यो गीत इन्टरनेटमा ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।



लोकपाटी न्यूज

