दिव्या रायमाझी चलचित्र ‘एक्टर’मा अनुबन्धित

Divya_Rayamajhi
लोकपाटी न्यूज

काठमाडौं। अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी अब चलचित्रमा देखिने भएकी छन्। अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा दिव्या अनुबन्ध भएकी हुन्।

निर्माण पक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबिच फिल्मका लागि कागजी सम्झौता भएको छ। निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएपछि उक्त सम्झौता भएको हो।

दिव्या हाल अमेरिकामा छिन्। केही सातापछि उनी नेपाल आउन लागेको बताइएको छ। चलचित्रमा यसअघि नै प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन्। वैशाखको पहिलो साताबाट छायांकन सुरु हुने यो चलचित्रको प्रदर्शन भने कात्तिकमा हुनेछ।

राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह-निर्मातामा एनिस भुसाल छन्। यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ। फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्