गाउँमा सडक पुग्यो, मासिए सम्पदा

लोकपाटी न्यूज

गलेश्वर (म्याग्दी)। उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा। वरिपरि सिस्नो र बनमाराको जङ्गल। लेउ लागेको कुँवामा पातैपात। बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका-२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो।

गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्रायः सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै छ। सडकका कारण गाउँ पुग्ने गोरेटा बाटा नासिएका छन्। सडकबाटै मानिस आवतजावत गर्ने भएपछि मर्मतसम्भारको अभावमा गाउँ पुग्ने गोरेटो बाटा भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसान पनि मेटिएको छ।

‘गोरेटो बाटोको नामोनिसान छैन। जताततै मोटर गुड्न थालेपछि यात्रुले थकाइ मेटाउने चौतारी तथा बिसाउनी नसिएका छन्। कुँवा, धारो र पँधेरा देखिन छोडेका छन्,’ खबराका यामबहादुर घिमिरे भन्छन्, ‘वनजङ्गल पनि उराठलाग्दो बनेका छन्। मानिस आउन छोडेपछि जङ्गल त घना भएको छ। घाँस दाउरा र स्याउला, प्रयोग गर्न छोडेपछि त जङ्गलको बाटो हिँड्न पनि उराठलाग्दो छ।’

गोरेटो बाटो नासिँदै गएपछि गाउँको सुन्दरता र मानिसबीचको आत्मीयता पनि कम हुँदै गएको खबराका चन्द्रबहादुर कार्की बताउँछन्। ‘डिम्मराको उकालो उक्लेर गौडालाउनेको चौतारीमा पुगेपछि आँत हररर हुन्थ्यो। यहाँको सितल हावा र चिसो पानीले बेनीदेखि उकालो बाटो हिँडेर गौडालाउनीसम्म आइपुग्दाको दुःख बिर्साउँदथ्यो,’ उनी भन्छन्, ‘बाटो हिँडेर घरमा आउजाउ गर्दा, बाटोमा भेटिएका दौँतरीसँग दुःखसुखको कुरा गर्दै हिँड्दा, अनि साँझमा घर आएर महीसँग मकै चपाउँदाको आनन्द अब कहाँ पाउनु ?’

गाउँ गाउँमा पुगेका सडकका कारण गाउँलेलाई सुविधा र सास्ती दुवै मिलेको बताउँछन्, मालिका गाउँपालिका वडा नं २ का टेकबहादुर विक। ‘बस्ती बस्तीमा गाडी आउँछ, दरबाङ, बेनी जहाँबाट मगायो त्यहीँबाट सामान घरको आँगनमा नै ल्याइपुर्‍याइदिन्छ। बिरामी हुँदा अस्पतालसम्म गाडी चढेरै जान पाइन्छ यो त राम्रो हो,’ विक भन्छन्, ‘तर, वर्षामा भने न गाडी आउँछ न माटो बग्न रोकिन्छ। पहिरोले उठिबास लगाउने डर हुन्छ।’

वातावरणीय मूल्यांकन नगरिकन जथाभाबी खनिएका ग्रामीण सडकले गाउँको सौन्दर्य त नास भएको छ नै, भूस्खलन र बाढी पहिरोको जोखिम पनि बढाएको छ। भिरालो भूगोलमा भएका गाउँ थप जोखिममा परेका छन्। ती गाउँसम्म जाने गोरोटो बाटो नासिए पछि गाउँलेलाई घुमाउरो बाटो प्रयोग गरेर गाउँसम्म पुग्नुपर्ने बाध्यता छ। ‘सडक खन्दा घुमाउरो (नागबेली) पारेर खन्छन्, गाउँका खोल्सा खाल्सी, सत्तल, पाटी, चौतारो, कुवा, गोरेटो केही पनि बचेनन्,’ धौलागिरि गाउँपालिका ५ मल्काबाङका कर्म छन्त्याल भन्छन्, ‘गाडी चढेर गाउँमा नौला मान्छे त आउँछन् तर सहर बजार झरेका आफन्तलाई भेट्न चाडपर्व नै कुर्नुपर्दछ।’

सडकले गोरेटो बाटो मासेपछि बस्ती पनि टाढा टाढाजस्ता भएका छन्। पहिला छोटो गोरेटो बाटो प्रयोग गरेर एक गाउँदेखि अर्को गाउँमा पुग्न सकिन्थ्यो तर अब गोरेटो बाटो नै नरहेपछि सडक हुँदै जाँदा घुमाउरो हुन्छ। चाहेको बेलामा छिमेकीकहाँ पुग्न पनि नसकिने अवस्था भएको उनको भनाइ छ। सडकले गोरेटो बाटो मात्रै मासेको होइन, ग्रामीण पहिचान बोकेका अनेकौं सम्पदा पनि नासिएका खबराका चन्द्रबहादुर कार्की उल्लेख गर्छन्।

उनी बेनी ज्यामरुककोटको गोरेटो बाटो नासिएपछि राजा भर्तिवम मल्लका अङ्गरक्षकले हातहतियार उधाउने बञ्चरेढुंगा अस्तित्वविहीन भएको छ भने। भर्तिवम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकाले स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिए पनि त्यो प्रयास पर्याप्त नभएको कार्कीको भनाइ छ।

यस्तै त्यस बेलाका राजा र उनका सहयोगी शिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषका रुपमा रहेको र अहिलेसम्म मर्मत गर्नेतर्फ कसैको ध्यान नपुगेको स्थानीय बुढापाका बताउँछन्। ‘नासिएर गएका सम्पदालाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बचेको प्राकृतिक सम्पदा संरक्षण हुन नसक्नु ज्यादै दुःखद कुरा हो, इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई सराप्ने छ,’ स्थानीय सोही ठाउँ निवासी टीकाबहादुर कार्की गुनासो गर्छन्।

गोरेटो बाटो (पदमार्ग) मासिएपछि घोडेपानी पुनहिलजस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या पनि घट्दै गएको र उनीहरूको बसाइ पनि कम हुँदै गएको छ। पर्यटक घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नु नै मानिएको छ। अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोका कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको घोडेपानीका पर्यटन व्यवसायी क्या डमबहादुर पुन बताउँछन्। ‘पर्यटक यहाँ गाडी चढ्न र पिज्जा, बर्गर खानमात्र आउने होइनन्, रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडक नै सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुवाँ खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन,’ उनको गुनासो छ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन्। ती वडामध्ये धौलागिरि गाउँपालिका-१ गुर्जाबाहेक अरू सबै वडाका बस्तीमा सडक पुगेको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्