विकास र समृद्धि : क्रान्तिको मार्ग भुलेको व्यवहार र प्रवृत्ति

लोकपाटी न्यूज
  • विश्वेश्वर कट्टेल

 विकास र समृद्धिको कुराले आवश्यकताभन्दा बाहिरको बाटो समातेको जस्तो महशुस भइरहेको छ। समृद्धि के हो ? समृद्धि ‘के’का लागि र कसका लागि भन्नेबारेमा अन्यौलता देखिन्छ। समृद्धिको मुद्दा कसले र किन उठायो ? कसको र किन समृद्धि चाहेको हो भन्नेबारेमा समाजवादी आन्दोलनका अभियन्ता नै अलमलमा परेको पाइन्छ। समाजवादी यात्राका लागि समृद्धिको मुद्दा उठेको थियो। एउटा पूर्ण व्यक्ति र उसको बहुआयामिक व्यक्तित्व विकास नै समृद्धिको आधार थियो। यस्ता व्यक्तित्वबाट उठेको समाजले न्याय स्वतन्त्रताको मिसाइल कायम गर्ने छ। विकासका नयाँ शृङ्खलाहरू निर्माण गर्ने छ र नेपाली जनतालाई वषौंदेखिको दाशता र उत्पीडनबाट मुक्त गर्ने छ भन्ने सोचका साथ समृद्धिको मुद्दा उठेको थियो।

हुन पर्न एउटा भयो अर्को

नेपाली जनताले बोकेको समृद्धिको मुद्दा कतै बाँदर हातमा नरिवल भने जस्तो त छैन ? प्रशस्त प्रश्न गर्ने ठाउँ छन्। आजको हाम्रो समाज दलाल पुँजीवादबाट बाहिर निस्कन नसकिरहेको अवस्थामा छ। यो घेराबन्दी यसरी हाम्रा चुलाचौका, मन मस्तिष्कमा पुगेको छ कि, यसले सत्य र असत्य छुट्याउन सक्ने चेतनामा समेत पुँजीवादका भाइरस प्रवेश गरी आसन जमाइरहेको अवस्था देखिन्छ। यो देशमा गणतन्त्र ल्याउने समाजवादीहरू, अर्थात् कम्युनिस्टहरू नै हुन्। त्यसको भरपुर उपयोग भने दलाल पुँजीवादीहरूले गरिरहेको अवस्था छ। यसले गर्दा कम्युनिस्टहरू सरकारमा देखिने, वास्तविक सत्ता भने दलाल पुँजीवादले हाँक्नेस्थिति सिर्जना भएको छ। समृद्धिको क्रान्तिकारी मुद्दामा पनि दलालिकरण हुन पुगेको छ। हुन पर्ने एउटा तर व्याख्या अर्को। जान पर्ने मार्ग एकातिर छ, हिँडेको छ अर्को तिर! जस्तो भयो।

संकट नैतिकताको

यसको परिणाम के देखियो त भन्दा, जनतामा कम्युनिस्ट विरोधी भावना जाग्न पुग्यो। कम्युनिस्ट आन्दोलनले आफ्नो ७५ वर्ष लगाएर गरेको त्याग तपस्या अब बरफ पग्ले जस्तै गरी पग्लन थाल्दै छ। हिजो निरङ्कुश तानाशाहविरुद्धको आन्दोलनमा धेरै हाम्रा होनहार सपुतहरूले आफ्नो जीवन आहुति दिए। किन दिए ? दलालहरूसँग झुकेको भए के ती मर्न पर्दथ्यो। तिनीहरूका छाला काढिन्थ्यो। उनीहरूलाई जिउँदै गाड्ने र जलाउने काम हुन्थ्यो ? अवश्य हुँदैन थियो। सायद ठूला ठूला अवसर लिएर एउटा सम्भ्रान्त परिवारको रुपमा जीवन जिउँथे होला। त्यसै मर्न कलाई रहर हुन्छ। अरूको लागि सहदात प्राप्त गरेका वीरहरूको यो विरासतलाई हामीले जोगाउने कि नजोगाउने! संकट नैतिकताको पनि छ।

के यसरी जान सकिँदैन ?

कम्युनिस्टहरूले किन रोजे समाजवाद र समृद्धिको बाटो ? सबै कम्युनिस्ट आन्दोलनका अग्रजहरूले एक भएर सोच्ने बेला हो यो। मुखले समाजवाद आउँदैन। आज युवाहरू विदेश पलायन भइरहेका छन्। सरकारमा कम्युनिस्ट पार्टी छ। के उसले एउटा अभियान छेड्न सक्दैन ? सक्न पर्दछ। परनिर्भरता घटाउँदै लाने, आत्मनिर्भरता बढाउँदै लाने र विदेश पलायन युवा श्रमशक्ति रोक्न टाढा जान पर्दैन। खास गरी मन्त्रालय र विभागमा रहेका व्युरोक्रयाटहरुको तजबिजका रकम मात्र जम्मा गरेपनि सात प्रदेशमा एक-एक लाख युवा श्रम शक्ति रहेका उत्पादन बृगेडियर तयार गर्न सकिन्छ। भोलि बस्ने, खाने र तलब बाहेक उत्पादनको नाफाबाट उनीहरूले बोनससमेत पाउने गरी बृगेडियर गठन गरेर नयाँ अभ्यास सुरु गरौं। त्यसले पार्नै बहुआयामिक प्रभाव नै आजको समृद्धिको आधार बन्न सक्ने छ।

आज त्यो बाटो रोजेर हिँड्न सकिँदैन ? आँट हो, आधारभूत तहका जनताले भोगेका पीडा बुझेकाको बाटो हो त्यो। देशको माटोको मूल्य चिन्नेहरूको बाटो हो त्यो। हिजो समाजमा विद्रोह त्यसै लहडमा भएको हैन। माओवादी क्रान्ति त्यति छोटो अवधिमा त्यसरी जबरजस्त त्यसै मायावी चालमा उठेको हैन। त्यसभित्र सयौं वर्षको एउटा पीडा थियो, अपमान थियो, विभेदको अग्नि ज्वाला थियो, आत्महिनता बोध थियो। र त आन्दोलन आगोको ज्वाला जस्तै छिटो छिटो दन्कन पुगेको थियो।

बत्ती अझै निभेको छैन

आज आन्दोलन उचाल्नेहरूलाई त एउटा न एउटा अवसरमा होलान्, तर आन्दोलन गर्नेहरू प्रायः सबै तह र तप्काहरू बाहिर छन्। र त प्रतिक्रियावादीहरू सल्बलाएका छन्। कम्युनिस्टहरूका साथ आन्दोलनकारी रहेसम्म प्रतिक्रियावादीहरू दुलामा बसेर मौका पर्खिरहेका थिए। दलाल पुँजीवादीहरू कम्युनिस्टहरूसँग हातेमालो गर्दै लतारिँदै पछि पछि लुखुर लुखुर आइरहेका थिए। अब त्यस्तो हुनेवाला छैन। कम्युनिस्टहरू अब दलाल पुँजीवादीहरूको पाउमा पर्ने दिन आउँदै छ। त्यस दिन उनीहरूले कम्युनिस्टलाई हामीले झैँ तान्दै ल्याउँदैनन्। गला निमोठेर धुलिपिठी पारिदिन्छन्।

लहड र बेवकुफ तर्कको आधारमा यो भनिएको हैन, विश्व कम्युनिस्ट आन्दोलनको हरेक देशका मोर्चाहरूले भोगेको हरेक पल, क्षण व्यवहार र घटनाको अध्ययनबाट भनिएको हो। कम्युनिस्ट आन्दोलनको बत्ती अझै निभेको छैन है। दियोमा तेल थप्ने काम भइरहेको छ। जो अगाडि मोर्चामा देखिएका छन्, अब तिनीहरूले हिजो बाजेको पालामा हिङ्बाँधेको टालो हो, सुङ् सुङ् भनेर हुँदैन।

गफले, सानले र मानले केही प्राप्त हुँदैन

म कम्युनिस्ट हु, म क्रान्तिकारी हुँ भन्ने गफले, सानले र मानले केही प्राप्त हुनेवाला छैन। उल्टो गुम्ने वाला छ। अब केही गर्नै पर्दछ। समाजवादको मार्ग खोज्न पर्छ। समाजवादी आन्दोलनको आधार तयार गर्नुपर्छ। त्यो मोर्चामा पुँजीवादीहरूसँग दह्रो घम्साघम्सी हुन सक्दछ। यथास्थितिवादी, प्रतिक्रान्तिकारी र प्रतिक्रियावादीहरूसँग अवश्य टकराब सुरु हुन पुग्दछ। त्यहीबाट उठेको कम्युनिस्ट आन्दोलनले आफूलाई समृद्ध तुल्याउन र समाजवादको आधार तयार गर्ने बाटो खोल्न सक्दछ। हैन अब लिपपोत गर्दै, टालटुल गर्दै घिसेपिटेतालले समाजवादी आन्दोलन जाग्दैन। समाजवादका नाममा बेचिखान केही थान बस्तुहरू बाँकी रहलान् तर वास्तवमा ती समाजवादका बाधक नै बन्न पुग्दछन्। सिद्धान्तभन्दा बाहिर गएर जति फुर्तिला गफ गरेपनि ती पानीका फोका सिवाय केही हैनन्। त्यसले कुनै प्रभाव र परिणाम दिँदैन।

हिजो देखिको विभेदविरुद्ध जान सकेन

आजको यो अवस्था हेर्दा, हिजोदेखि जो हेपिएको छ, चेपिएको छ, बहिस्कारमा परेको छ, समाजबाट पर्गेलिन बाध्य छन्, उनीहरूको खोसिएका अधिकारहरू पुनर्स्थापना हुने अवस्था देखिँदैन। जनतालाई राजनीतिक, सामाजिक आर्थिक अधिकारबाट वञ्चित गरिएका छन्। राज्य सत्ताले विवेक पुर्‍याउँछ, पद्धति बसाउँछ र नदेखिएका समस्यामाथि समेत प्रकाश छर्ने तागत राख्दछ भन्ने विश्वास गुमेको छ। पछि परेका जनतापछि नै छन्। फटाहाको बिगबिगी दिन प्रतिदिन महशुर बन्दै गएको देखिन्छ। ती अन्यायमा परेका, विगतदेखि हेपिएका चेपिएका खोला टोला लेक बेसीमा बसेर अँध्यारो जीवन बाँचिरहेका दुखी पीडितहरूको साथमा रहनुपर्ने कम्युनिस्ट पार्टीहरू सरकारमा बसेको कारण न दूर दराज पुग्न सकेका छन्, न तिनीहरूका मुद्दा उठाएर गाउँ बस्ती र सहरहरू तताउन सकेका छन्। हिजोदेखिको विभेदकाविरुद्ध जान सकेका छैनन्।

जनताले खोजेको परिवर्तन

सरकारमा नै बसेर कम्युनिस्टले गर्नुपर्ने काम, समाजवाद स्थापनका लागि तयार गर्न सकिने सामान्य पूर्वाधारका अभ्याससमेत गर्न सकेका छैनन्। सरकार त जसले पनि चलाएको थियो। औँठा छापेले पनि चलाए, चारपासेले पनि चलाए, मै हुँ भन्ने विद्वान विदुषीहरूले पनि चलाए। यो के ठूलो कुरा भयो र ? चलाउन पाए जसले पनि चलाउँछ। कुराको चुरो त्यहाँबाट सुरु हुन्छ, जब त्यसले क्रान्तिको बिगुल फुक्न थाल्दछ। लौ अव त केही हुने भयो! गर्न लागेको थियो यी र यस्ता फटाहाले गर्न दिएनन्! आन्दोलन नयाँ चरणमा प्रवेश गर्दछ।

खोजेको जनताले परिवर्तन हो नि त! विभेदको अन्त गर्न हो ? हरेकले मेरो देश भन्न पाउन पर्ने अधिकार हो खोजेको। देश प्रति गर्व गर्न पाउने अधिकार खोजेको हो। सच्चा समाजवाद हो खोजको। यहाँ त विश्व एकाधिकार पुँजीवादका नाइकेहरूले उनीका भाइबन्धुको रुपमा रहेका दलाल पुँजीवादीहरूलाई कम्युनिस्टलाई असक्षम सिद्धान्तहीन र समाजवादको मूल मान्यता र भावना विपरीत हिँड्न तालिम दिए जस्तो छ। जनताका समस्या समाधान गर्नको सट्टा दबाउने, उठेका आन्दोलनको गलत परिभाषा गर्ने, सेन्डिगेट जस्तो आजको नवीन सामन्तहरूको रक्षा गर्ने, वित्तीय संस्था डुबाउने, सहकारीका नाममा हातमुख जोड्न धौ धौ भएका गरिबहरूले थुक तेल गरेर जम्मा गरेको रकम कुम्ल्याएर भाग्नेहरूको अवस्था हेरेर बस्ने दिन आएको अनुभूत भएको छ।

आँसु पुच्छन किन अगाडि नबढ्ने ?

किन कम्युनिस्टहरूले ती मुद्दा नउठाउने जसलाई सहकारीले सर्वस्व लुटेको छ। विभिन्न चक्रीय व्याजले कङ्गाल बनाउन खोज्दै छ। न्याय नपाएर जिउँदै जल्न बाध्य पारिरहेको छ। विभिन्न ठगिका सिकार हुन परेकाहरूको आँसु पुच्छन किन अगाडि नबढ्ने ? सरकारलाई बजेट बनाउँदा, कुनै जनपक्षीय निर्णय गर्न खोज्दा बाधा हाल्ने तत्त्वको किन नाङ्गेझार नबनाउने ? भ्रष्टाचारीहरूलाई कालोमसो दल्दै शहर घुमाउँदै प्रहरीको जिम्मा किन नलगाउने ? यस्ता कुरा गर्दै सरकारबाट हट्न परे डराउन पर्दैन। जनताको घर घर पुग्ने शक्ति हामीमा छ भने कसैले रोक्न सक्दैन। समुद्रमा चलिरहेको नाउँमा सानो प्वाल परुन्जेल त पानी उवाउँदै प्वाल टाल्दै काम चल्दछ, जब पानीको दबाबले प्लाल बढ्दै जान्छ डुङ्गा डुब्न कुनै साइत कुरिरहन पर्दैन। यसर्थ समय छ, अहिले केही गरौं। समाजवादको आधार तयार गर्ने मार्ग खोजौं। सबै साँच्चै कम्युनिस्ट हो भने सबै एक ठाउँमा उभिऔँ। यही समाजवादी मोर्चालाई क्रान्तिको मूलधारको रुपमा विकास गरौं। कम्युनिस्ट आन्दोलनलाई एक उचाइ दिऊँ। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्