नारायण गिरी
हाम्रो देश शक्तिको खोजीमा छ। सैन्य भावनालाई प्रोत्साहित गरिएको छैन। जनसंख्याको भौतिकस्थिति दिनप्रतिदिन बिग्रिँदै गएको छ। यो धेरै हैरान बनाउने घटना हो। शारीरिक शिक्षाका प्रवर्तकहरूले समस्याको सारलाई बुझेका छैनन्। तिनीहरूको प्रयास लामो समयसम्म चलेपनि प्रभावकारी रहेका छैनन्। स्थिति यही रहिरह्यो भने हाम्रो कमजोरी अझ बढ्नेछ। आफ्ना लक्ष्यहरूलाई प्राप्त गर्नु र आफ्नो प्रभाव महसुस गर्नु बाह्य मामिला हो, परिणाम हो।
हाम्रो शारीरिक शक्तिको विकास एक आन्तरिक मामिला हो, एक कारण हो। यदि हाम्रो बाहिरी शक्तिबाट हृदय प्रेरित: शरीर बलियो भएन भने हामी शत्रु सैनिकहरूलाई देख्ने बित्तिकै डराउनेछौं। हामी कसरी आफ्नो लक्ष्य प्राप्त गर्न सक्छौं र आफ्नो सम्मान बनाउन सक्छौं ? शक्ति कसरतमा निर्भर हुन्छ। कसरत आत्म-जागरूकतमा निर्भर हुन्छ। शारीरिक शिक्षाका समर्थक विभिन्न तरीकालाई आविष्कार गर्नमा असफल भएका छैनन्। यदि उनीहरूका प्रयास पनि असफल रहे भने यसको कारण बाहिरी शक्तिले हृदयलाई प्रेरित गर्नको लागि पर्याप्त छ भन्ने हो।
हामी शारीरिक शिक्षालाई प्रभावकारी बनाउन चाहन्छौं भने मानिसका व्यक्तिपरक दृष्टिकोणलाई प्रभावित गर्नुपर्नेछ। उनीहरूलाई शारीरिक शिक्षाप्रति जागरूक हुनको लागि प्रेरित गर्नुपर्नेछ। यदि कोही समस्याप्रति सचेत हुन्छ भने शारीरिक शिक्षाको लागि एक कार्यक्रम सजिलैसँग आउनेछ। हामी आफ्नो लक्ष्यलाई प्राप्त गर्नेछौं तथा निश्चित रूपले आफ्नो प्रभाव महसुस गर्नेछौं।
शारीरिक शिक्षाको व्याख्या
शारीरिक शिक्षाले जीवनलाई व्यवस्थित राख्नमा मद्दत गर्दछ। यसको व्याख्या गर्नमा पूर्व र पश्चिम भिन्न छन्। जुआंग झोउले भान्साको उदाहरणको अनुसरण गरे, कन्फ्यूसियसले धनुर्धारी र सारथिको पाठलाई अपनाए। जर्मनीमा शारीरिक शिक्षाले सबभन्दा धेरै लोकप्रियता हासिल गरेको छ। सम्पूर्ण देशमा बारबन्दी फैलिएको छ। जापानमा बुशिडो छ। यसको अतिरिक्त भर्खरै हाम्रो देशका परम्पराहरूको पालना गर्दै जूडो एक सह्रानीय स्तरसम्म विकसित भएको छ। हामीले यी उदाहरणहरूको परीक्षण गर्दा के देख्दछौं भने तिनीहरू सबै शरीर विज्ञानको अध्ययनबाट सुरु हुन्छन्।
हाम्रो जीवनमा शारीरिक शिक्षाको स्थान
शारीरिक शिक्षा सद्गुण र ज्ञानको शिक्षाको पूरक हो। यसको अतिरिक्त गुण र ज्ञान दुवै शरीरमा रहन्छन्। शरीर बिना न त गुण हुन्छ र न ज्ञान नै हुन्छ। यसलाई बुझ्नेहरू विरलै हुन्छन्। मानिसहरू या त ज्ञानमाथि जोड दिन्छन् या नैतिकतामाथि। ज्ञान निश्चित रूपले मूल्यवान् छ। ज्ञानले मानिसलाई जनवारहरूबाट अलग गर्दछ। तर ज्ञान कहाँ निहित हुन्छ ? नैतिकता पनि मूल्यवान् छ, यो सामाजिक व्यवस्था तथा हामी र अरूको बीचमा समानताको आधार हो। तर सद्गुण कहाँ हुन्छ ? यो शरीरमा ज्ञान र सद्गुण छ, यसमा रथ जस्तै ज्ञान छ र कक्ष जस्तै नैतिकता छ।
शरीर त्यो रथ हो, जसमा ज्ञान हुन्छ, कक्ष त्यो हो, जसमा सद्गुण हुन्छ। बच्चाहरू उचित उमेरमा पुगेपछि प्राथमिक विद्यालयमा प्रवेश गर्दछन्। प्राथमिक विद्यालयमा शरीरको विकासमा विशेष ध्यान दिनुपर्दछ। ज्ञानमा प्रगति र नैतिक प्रशिक्षण गौण महत्त्वका हुन्छन्। पोषण र हेरविचार प्राथमिक हुनुपर्दछ। शिक्षण र अनुशासन पूरक हुनुपर्दछ।
शारीरिक विकासमा बाधक असङ्ख्य: वर्तमान समयमा अधिकांश मानिसहरूलाई यो कुरा थाहा छैन। यसको परिणाम के हुन्छ भने पढाइको कारण बच्चा बिरामी हुन्छन्, कम उमेरमा नै मर्दछन्। माध्यमिक र उच्च विद्यालयहरूमा शिक्षाका तीन पक्षहरूमा समान रूपले जोड दिइनुपर्दछ। वर्तमान समयमा अधिकतम मानिसहरू ज्ञानमाथि आवश्यकताभन्दा बढी जोड दिन्छन्। माध्यमिक विद्यालयका वर्षहरूमा शरीरको विकास अझैसम्म पूरा भएको हुँदैन। त्यसकारण आज शारीरिक विकासमा सहायक कारक कम छ, बाधक कारक असङ्ख्य छ। यस्तो अवस्थामा के शारीरिक काम रोकिँदैन ?
हाम्रो देशको शिक्षा व्यवस्थामा आवश्यक पाठ्यक्रम गाईको रौं जत्तिकै घना हुन्छन्। यहाँसम्म कि एउटा सख्त, बलियो शरीरयुक्त वयस्कले पनि यसलाई सहन गर्न सक्दैन। बालकहरू जो वयस्कतासम्म पुगेका छैनन्, वा कमजोर छन्, कसरी सहन गर्दछन् ? शिक्षकहरूको इच्छामा अट्कल लगाउँदै कसैलाई के आश्चर्य हुन्छ भने के उनीहरूले विद्यार्थीहरूलाई थकाइदिन, उनीहरूको शरीरलाई दमन गर्न र उनीहरूको जीवनलाई बर्बाद गर्नको लागि यस्तो बोझिल पाठ्यक्रम बनाएका त थिएनन्! कति बेवकुफ!
स्वास्थ्य शरीर नहुनु: एक मात्र विपत्ति, जुन मानिसमाथि आउन सक्दछ, त्यो स्वास्थ्य शरीर नहुनु हो। चिन्ताको अरू कुरा के छ ? यदि कसैले आफ्नो शरीरलाई स्वास्थ्य पार्न चाहन्छ भने अन्य चीजहरू आफैँ आउनेछन्। शरीरको सुधारको लागि शारीरिक शिक्षाभन्दा बढी प्रभावकारी केही पनि हुँदैन। शारीरिक शिक्षाले वास्तवमा हाम्रो जीवनमा प्रथम स्थान राख्छ। शरीर बलियो भएपछि व्यक्ति ज्ञान र नैतिकतामा तीव्रतापूर्वक अगाडि बढ्न सक्छ र दूरगामी लाभ उठाउन सक्छ। यसलाई हाम्रो अध्ययनको एक महत्त्वपूर्ण हिस्सा मानिनुपर्दछ।
सिक्नुका आफ्ना आवश्यक र सहायक हिस्सा हुन्छन् र मामिलाहरूको अन्त र सुरुवात हुन्छ। ‘प्रथम के हो र अन्तिम के हो भन्ने कुरा जान्नुले व्यक्तिलाई मार्गको निकट ल्याउनेछ’३ (३कन्फ्यूशियस, महान सिकाई (डेस्क्यू))
शारीरिक शिक्षाको दुरुपयोग हटाउने पद्धति
शिक्षाका तीन रूप समान रूपले महत्त्वपूर्ण हुन्छन् : अहिलेसम्म विद्यार्थीहरूले नैतिक र बौद्धिक शिक्षामाथि धेरै ध्यान दिएका छन्, तर शारीरिक शिक्षाको उपेक्षा गरेका छन्। दुर्भाग्यपूर्ण यसको परिणाम के भएको छ भने उनीहरू आफ्नो पिठ्यूँ झुकाउँछन् र शिर झुकाउँदछन्, उनीहरूका ‘सेता र पातला हात’ छन्,’४ (४’कविता क्रम १० को उन्नाइस पुराना कविताहरू (गुशी शिजिउ शो) बाट ‘टाढा, धेरै टाढा गाई चराउने तारा’।) जब उनीहरू कुनै पहाडमा चढ्दछन्, तब उनीहरूको सास फुल्न लाग्छ, र जब उनीहरू पानीमा हिँड्दछन्, तब उनीहरूका खुट्टामा ऐँठन हुन्छ।
यही कारणले गर्दा यान्जीको जीवन छोटो थियो। जिया यीको युवा अवस्थामा नै मृत्यु भयो। जहाँसम्म वाङ्ग बो र लू ओलिनको कुरा छ, उनीहरूमध्ये एकको मृत्यु युवा अवस्थामा नै भयो। अर्को, पक्षाघातको शिकार भयो। यी सबै नैतिकता र ज्ञानमा उच्च योग्यता भएका व्यक्ति थिए। तर एक दिन यस्तो आउनेछ, शरीरको रक्षा गर्न नसक्दा त्यससँगै नैतिकता र बुद्धि पनि नष्ट हुन्छ। केवल उत्तरका मानिसहरू मात्र ‘हतियारहरू मुनि सुत्ने र पछुतो बिना मृत्युको सामना गर्न सक्षम छन्।’५ (५’कन्फ्यूसियस, द डक्ट्रिन अफ मिन, एक्स, ‘४)।
यान र झाओका क्षेत्रहरूमा कैयौं नायक थिए र शहीद तथा योद्धा प्रायः लियांगजूबाट आउँथे। छिङ्ग राजवंशको सुरुआतमा यान जिझाईले तरबारबाजीको कला सिक्नको लागि ग्रेटवालको उत्तरमा एक हजार ली’६ (६’एक ली = ५०० मिटर वा = ०.३१ माइलको बराबर हुन्छ।) भन्दा बढीको यात्रा गरे। उनले वीर सैनिकहरूसँग लडाइँ गरेर जित हासिल गरे। त्यसकारणले उनले भने : ‘यदि कसैमा साहित्यिक वा सैन्य कलाको अभाव छ भने के यो सच्चा मार्ग हो ?’
व्यक्तिगत पहलबाट सुरूवातः जहाँसम्म हामी विद्यार्थीहरूको सवाल छ, एउटा स्कुलको स्थापना र त्यसका शिक्षकहरूद्वारा दिइने निर्देशन केवल बाह्य एवम् वस्तुनिष्ठ पक्ष हुन्। हामीसँग आन्तरिक र व्यक्तिपरक पक्ष पनि छ। जब केहीको निर्णय उसको हृदयमा हुन्छ, तब शरीरका सबै अङ्गले उसका आदेशहरूको पालना गर्दछन्। सौभाग्य र दुर्भाग्य हाम्रा आफ्नै खोज हुन्। ‘मलाई गुणवान् बन्नु छ र लिनुहोस्! सद्गुण हातमा छ।’ ७(७कन्फ्यूशियस, एनालेक्ट्स, ७ : २९।)। शारीरिक शिक्षाको बारेमा यी कुरा कति धेरै सत्य छन्! यदि हामीमा कार्य गर्ने इच्छाशक्ति भएन भने बाह्य र आन्तरिक उद्देश्य परिपूर्ण भए पनि तिनीहरूले हामीलाई लाभ पुर्याउन सक्दैनन्। त्यसकारण हामीले शारीरिक शिक्षाको कुरा गर्दा व्यक्तिगत पहलबाट सुरुवात गर्नुपर्दछ।
शारीरिक शिक्षाको उपयोगिता
हृदयलाई खुशी राख्नु: मानिस एक प्राणी भएकोले उसको लागि गति सबभन्दा महत्त्वपूर्ण हुन्छ। मानिस एक तार्किक प्राणी हो, उसका क्रियाकलापहरूको कुनै कारण हुनुपर्दछ। तर क्रियाशीलता (गति) सम्मानको पात्र किन हो ? तर्कसंगत क्रियाशीलता सम्मानको पात्र किन हो ? गतिले जीविकोपार्जनमा मद्दत गर्दछ भन्नु सामान्य कुरा हो। आन्दोलन (गति) ले राष्ट्रको रक्षा गर्दछ भन्नु प्रभावकारी हुन्छ, तर पनि यिनीहरूमध्ये कुनै पनि मूल कारण होइन। आन्दोलनको उद्देश्य केवल हाम्रो जीवनको रक्षा गर्नु र हाम्रो हृदयलाई खुशी राख्नु हो।
स्वर्ग र पृथ्वीमा केवल आन्दोलन छ: झू शी सम्मानमाथि जोड दिन्छन्, र लू जिउयूआन सौहार्दतामा जोड दिन्छन्। सौहार्दता शान्ति हो, सम्मान कारबाही होइन, यो केवल शान्ति हो। लाओत्सेका अनुसार अ-सक्रियता नै अन्तिम लक्ष्य थियो, बुद्धले शान्ति र चिन्तनका तरिकाहरूको खोजी गरे। झू र लूका शिष्यहरूद्वारा चिन्तनको कलाको सम्मान गरिन्छ। हालै यस्ता मानिसहरू सामुन्ने आएका छन्, यी गुरुहरूको अनुसरण गर्दै चिन्तनका तरिकाहरूको कुरा गरेका छन्। आफ्ना तरिकाहरूको प्रभावकारिताको बारेमा डिंग हाँकेका छन्। व्यायाम गर्नेहरूप्रति तिरस्कार व्यक्त गरेका छन्। उनीहरू आफ्नो शरीरलाई बर्बाद गरिरहेका छन्। यो सम्भवतः एउटा तरीका हो, तर म यसको नक्कल गर्ने जोखिम उठाउँदिनँ। मेरो विनम्र रायमा, स्वर्ग र पृथ्वीमा केवल गति (आन्दोलन) छ।
कमजोर इच्छा शक्ति: प्रायः के भन्दै गरेको सुनिन्छ भने मन र शरीर दुवै एकै समयमा परिपूर्ण हुन सक्दैनन्। जो मानिसले दिमागको उपयोग गर्दछन्, तिनीहरूको शारीरिक स्वास्थ्य कमजोर हुन्छ। जसको शरीर बलियो हुन्छ, उसमा सामान्यतः मानसिक क्षमता कम हुन्छ। यस प्रकारका कुरा पनि बेतुके हुन्। यी कुरा केवल ती मानिसमाथि लागू हुन्छ, जसमा इच्छाशक्ति कमजोर छ। कार्यमा कमजोर छन्। जुन सामान्यतः श्रेष्ठ मानिसहरूको मामिलामा हुँदैन।
हातमा तरबार थमाउने ऋषि कहलिए: कन्फ्यूशियसको मृत्यु ७२ वर्षको उमेरमा भयो, र मैले उनको शरीर स्वस्थ थिएन भनेर सुनिनँ। बुद्धले आफ्ना सिद्धान्तहरूको प्रचार गर्दै लगातार यात्रा गरे र वृद्धावस्थामा उनको मृत्यु भयो। जिससलाई अन्यायपूर्वक मर्ने दुर्भाग्य थियो। जहाँसम्म मोहम्मदको कुरा छ, उनले आफ्नो बायाँ हातमा कुरान र दायाँ हातमा तरबार पक्रिएर दुनियाँलाई आफ्नो अधिनमा पारे। यी सबै व्यक्तिहरू ऋषि कहलिए र महान्तम विचारकहरूमध्ये रहन पुगे।
मस्तिष्कलाई सभ्य र शरीरलाई जङ्गली बनाउः म शारीरिक शिक्षाले केवल शरीरलाई बलियो बनाउने मात्र होइन, बरु यसले हाम्रो ज्ञानलाई पनि बढाउँदछ। एउटा भनाइ छ : मस्तिष्कलाई सभ्य बनाऊ र शरीरलाई जङ्गली बनाऊ। यो एक उपयुक्त भनाइ हो। मस्तिष्कलाई सभ्य बनाउनको लागि सबभन्दा पहिले शरीरलाई जंगली बनाउनुपर्दछ। यदि शरीरलाई जंगली बनाइयो भने सभ्य मनले त्यसको अनुसरण गर्नेछ। ज्ञानमा संसारका चीजहरूलाई जान्नु र तिनीहरूका नियमहरूलाई बुझ्ने कुरा सामेल हुन्छ। यो मामिलामा हामीले आफ्नो शरीरमाथि भरोसा गर्नुपर्दछ, प्रत्यक्ष अवलोकनले कान र आँखामा निर्भर गर्दछ, र प्रतिबिम्ब मस्तिष्कमा निर्भर हुन्छ।
कमजोर बलियो बिच विभाजन: कान र आँखा साथै मस्तिष्कलाई शरीरका अंग मान्न सकिन्छ। शरीर उत्तम भएपछि ज्ञान पनि उत्तम हुन्छ। त्यसकारण कसैले के भन्न सक्दछ भने ज्ञान अप्रत्यक्ष रूपले शारीरिक शिक्षाको माध्यमबाट प्राप्त गरिन्छ। अनेक आधुनिक विज्ञानहरूको अध्ययन गर्नको लागि शारीरिक शक्तिको आवश्यकता हुन्छ, चाहे त्यो स्कुलमा होस् वा स्वतन्त्र अध्ययनको माध्यमबाट। जो यसको बराबर छ, ऊ बलियो शरीरयुक्त व्यक्ति हो, जो यसको बराबर छैन, ऊ कमजोर शरीरयुक्त व्यक्ति हो। बलियो र कमजोरको बीचमा विभाजनले जिम्मेवारीको क्षेत्रलाई निर्धारित गर्दछ, जुन प्रत्येकले ग्रहण गर्न सक्छ।
भावना सन्तुलित बनाउँछ: शारीरिक शिक्षाले केवल ज्ञानलाई बढाउने मात्र होइन, बरु भावनाहरूलाई पनि सन्तुलित गर्दछ। भावनात्मक शक्ति अत्यन्तै महान हुन्छ। पूर्वजहरूले तिनीहरूलाई तर्कबाट अनुशासित गर्ने प्रयास गरे। त्यसकारण उनीहरूले सोधे, ‘के मास्टर (अर्थात्, कारण) हमेशा सतर्क रहन्छ ?’
उनीहरूले यो पनि भने : ‘व्यक्तिले तर्कद्वारा हृदयलाई अनुशासित गर्नुपर्दछ।’ तर तर्क हृदयबाट निक्लिन्छ, र हृदय शरीरमा रहन्छ। हामी प्रायः के देख्दछौं भने कमजोर व्यक्ति आफ्ना भावनाहरूको दास हुन्छन् र तिनीहरूमाथि काबू पाउनमा असमर्थ हुन्छन्। जसका इन्द्रियहरू अपूर्ण छन् वा जसका अंग खराब छन्, उनीहरू प्रायः अत्यधिक आवेगको नियन्त्रणमा हुन्छन्, र बुद्धि उनीहरूलाई बचाउनमा असमर्थ हुन्छ। त्यसकारण शरीर उत्तम एवम् स्वस्थ भएपछि मात्र भावनाहरू सही हुन्छन् भन्ने कुरालाई अटल नियम भन्न सकिन्छ।
स्रोत : न्यू यूथ (ला ज्यूनेसी), १ अप्रिल १९१७, भोलम ३, अंक २।माओत्सेतुङको प्रारम्भिक लेख (जाओकी वेनगाओ), १९८९, पृष्ठ ६५-८१।अनुवाद : स्टुआर्ट श्राम, माओत्सेतुङको राजनीतिक विचार, पृष्ठ १५२-१६०। यसका बाँकी अंकहरू आगामी दिनहरूमा क्रमशः प्रकाशित हुँदै जाने छन्। यसमा पाठकहरूले आफ्ना धारणा राखिदिन पनि अनुरोध छ। -सम्पादक



लोकपाटी न्यूज

