विश्वचर्चित वैज्ञानिक म्याडम क्युरीको जन्म ७ नोभेम्बर, १८६७ मा पोल्याण्डको राजधानी वार्सा नजिकै एक निर्धन परिवारमा भएको थियो। उनको बाल्यकालको नाम मार्या स्वलोदोवस्की थियो। उनको बुवाको नाम भ्लादिमिर स्वलोडोवस्की हो। उनको पिता भ्लादिमिर विज्ञानका प्राध्यापक थिए भने उनकी आमा संगीतज्ञ तथा शिक्षिका थिइन्। क्युरी बालककाल देखि नै पिताबाट बौद्धिक चिन्तन र कर्मबाट प्रशिक्षित थिइन भने आमाबाट संगीतको ज्ञान र प्रयोगात्मक विज्ञानको कौशल प्राप्त गरेकी थिइन।
क्युरी अत्यन्तै प्रतिभाशाली विद्यार्थी थिइन्, त्यसैले उनी अध्ययनमा सधैँ अब्बल दर्जामा नै रहिन्। उनी विद्यालय जीवनमा कहिल्यै द्वितीय भइनन्। माध्यमिक तहको परीक्षामा उनले असाधारण क्षमता प्रदर्शन गरिन् र उनले यहीबाट स्वर्ण पदक पनि प्राप्त गरिन्। विद्यालयमा पढाउने शिक्षक, शिक्षिकाले उनलाई अत्यन्त माया गर्दथे। त्यतिबेला केटीहरूका निम्ति पोल्याण्डका सम्पूर्ण विश्व विद्यालयका ढोका बन्द थिए। तर उनी स्वअध्ययन केन्द्रसँग सम्बन्धित फ्लाइङ युनिभसिटीमा आबद्ध भई विज्ञान, प्रविधि र आधुनिक राजनीतिक सिद्धान्तका विषयमा युवा साथीहरूसँग मिली पारस्परिक अध्ययन गर्न थालिन्। पछि उनी पेरिस गई सारबोने विश्व विद्यालयमा पढ्न थालिन। उनले भौतिक शास्त्र, रसायन शास्त्र, खगोल शास्त्र, गणित, काब्य र संगीत जस्ता विषयहरूमा गहन अध्ययन गरिन्। यस क्रममा उनले सन् १८९२ मा भौतिक शास्त्रमा र सन् १८९४ मा गणितमा स्नातकोत्तर उपाधि प्राप्त गरिन्।
अब अलिकति उनको वैवाहिक जीवन तिर नजर दौडाऔँ। सन् १८९४ मा चुम्बकत्व बारेमा अनुसन्धान गर्ने क्रममा फ्रान्सका पियरेसँग उनको भेट भयो। दुवैको बिच प्रेमको कोपिला अंकुराउन थाल्यो र अन्तमा सन् १८९५ मा दुवैले विवाह गरे। दुवै वैज्ञानिक भएकोले उनीहरूको जीवन अत्यन्तै सुमधुर ढंगले विज्ञानको प्रयोगमा नै बित्यो। उनीहरू दुवै रेडियमको खोजमा तल्लीन रहे। पैँतालिस महिनाको अथक अध्ययन अनुसन्धान पछि पोलिनियम र रेडियमको खोजमा उनीहरूले सफलता प्राप्त गरेरै छोडे। सन् १९०३ मा दुबैलाई रेडियमको खोजका निम्ति नोबेल पुरस्कार दिइयो। तर दुर्भाग्य, सन् १९०६ मा उनको श्रीमान् पियरेको मृत्यु भयो। यसले उनलाई गहिरो चोट पुर्यायो। उनको दुई छोरी इरेन र इभेला थिए।
विभिन्न खाले अभाव, पिडाहरूको सामना गर्दै क्युरी निरन्तर अनुसन्धानमा लागि परिन्। उनी अध्ययन, अनुसन्धानमा यति दत्तचित्त हुन्थीनकी अनुसन्धानका क्रममा उनी महिनौँ नुहाउँदैन थिइन। हप्तौँ दाँत माझ्दैन थिइन् र कयौँ दिन कपाल समेत कोर्दैन थिइन। यसरी कठिन परिश्रम गरी त्यसबेलाको पुरुष प्रधान समाजमा उनले जीत हासिल गरिन र महत्त्वपूर्ण तत्त्व रेडियम पत्ता लगाइन्। सन्१९११ मा उनलाई रसायन विज्ञान सम्बन्धित खोजका निम्ति पुनः नोबेल पुरस्कार प्रदान गरियो। उनी अहिलेसम्म दुई पटक नोबेल पुरस्कार पाउने पहिलो र अन्तिम व्यक्ति हुन्।
हामीलाई थाहा भएकै कुरा हो, मानिस जति महान् भए पनि ऊ एक दिन यो संसारबाट भौतिक शरीर छोडेर बिदा हुनै पर्दछ। यो प्राकृतिक नियम म्याडम क्युरीको जीवनमा पनि लागू हुन्छ। आफै खोज गरेको रेडियमसँग ३५ वर्ष चलखेल गर्दागर्दै सन ६ जुलाई १९३४ मा उनी मृत्युको शिकार बनिन। क्यान्सरको उपचारमा प्रयोग गरिने रेडियम पत्ता लगाउने क्युरी आखिर क्यान्सरकै कारण यस संसारबाट बिदा भइन्। क्युरी आज हाम्रोसामु हुनुहुन्न तर उनले पत्ता लगाएका वैज्ञानिक खोजहरू हाम्रोसामु कहिल्यै नष्ट हुने छैन। उनको नम्र स्वभाव हाम्रो निम्ति प्रेरणा बनेको छ। उनी विलासिता र देखावटीलाई घृणा गर्थिन्। उनी आफ्नो काममा विश्वास गर्थिन, कर्मलाई प्रेम गर्थिन। उनको कर्म हाम्रोसामु कहिल्यै पनि मर्ने छैन। विश्व चर्चित वैज्ञानिक क्युरीलाई हामी सदा सर्वदा सम्मान गर्दछौँ र गर्नु पर्दछ पनि।
लेखक : मिलन आफन्त



लोकपाटी न्यूज

