सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुँदै, स्थानीयमा उत्साह

duwarikadham
मन्दिर निर्माणको गुरुयोजनामा समेटिएको निर्माणाधिन मन्दिरको तस्विर
लोकपाटी न्यूज

भक्तपुर। हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक धाम हो द्धारकाधाम। नेपालका नागरिक द्धारकाधामको दर्शन गर्नु परे भारतमा रहेको द्धारकाधाम जाने गर्दछन्। यसर्थ नेपालमा पनि द्धारकाधामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुँदैछ। यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने मन्दिर निर्माणका मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिए। उनले पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने उनले जानकारी दिए।

गुरुशास्त्रीले भने, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्धारकाधाम निर्माणमा हामी जुटेका छौँ, यहीँ २५ गते बुधबारको शुभसाइतमा जग पूजा एवं हवन गरि धामको निर्माण कार्य सुरु गरिने उनले बताए। करिब आठ रोपनी क्षेत्रफलमा २० करोडको लागतमा पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्धारकाधामको गुरुयोजना निर्माण सम्पन्न गरि मन्दिर निर्माणको कार्य अगाडि बढाएको उनले जानकारी दिए। द्धारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उहाँले भारतको द्धारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उनले बताए। उनले तीन वटै सरकार र दाताहरुबाट संकलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको बताउदै द्धारकमधामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताए।

यस क्षेत्रमा पाथिभरा मन्दिरदेखि द्धारकाधाम निर्माणमासम्म सांसद महेश बस्नेतले टेवा दिएको भन्दै उनले सबै क्षेत्रको बासिन्दलाई समेटर निर्माण समिति बनाएर यसलाई पूर्णता दिने शास्त्रीले बताए। मन्दिर निर्माणका लागि ५० औ वर्ष अगाडिदेखि जग्गाको भोग चलन गर्दै आएका स्थानीय अर्जुन बस्नेतदेखि यहाँका बस्नेतहरुले जग्गा उपलब्ध गराएर मन्दिर निर्माणमा ठूलो गुण लगाएका छन्र मन्दिर निर्माणमा स्थानीय सरकारको पनि सहयोग रहने नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए। उनले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउदै द्धारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्धारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताए।

गौ संरक्षण केन्द्रले पाथिभरा मन्दिर निर्माणदेखि अहिले द्धारकाधाम निर्माणमा समेत अगुवाई गरेको छ। केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरि २०७५ सालमा सवा करोड बत्ति बालेर नेपालकै ठूलो त्रिशुल जगाएर गुण्डुमा पाथिभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेसँगै मन्दिर निर्माण सम्पन्न भएको बताए। त्यतिबेलादेखि नै यसै स्थानमा द्धारकाधाम निर्माण गर्ने संकल्प लिएकोमा अब पूरा गर्ने समय आएको भन्दै उनले द्धारकाधाम मेरो पनि हो, त्यसको निर्माणमा मेरो पनि लगानी छ भन्ने हक राख्नका लागि दाताहरुलाई उनले आव्हान गरे। गौं अर्थात गाईहरुको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान सुरु गरेको यहाँ अहिले बटुकहरुलाई दिक्षा दिने र संस्कृत पाठशाला समेतको शुभारम्भ गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्