कम्युनिस्ट पार्टी र जनवर्गीय संगठनको सम्वन्ध

Maniratna Shrestha
लोकपाटी न्यूज

मणिरत्न श्रेष्ठ

समाज विकासको क्रममा दास मालिकहरूको विरुद्धमा दासहरूले गरेको ठूल–ठूला विद्रोहपश्चात दासयुगको अन्त्य भई सामन्तवादी व्यवस्था प्रारम्भ भयो। दास विद्रोह सचेत र वैचारिक रूपमा मानव मुक्तिको सिद्धान्तबाट मार्गनिर्देशित थिएन। यो शोषणको एउटा युगबाट अर्काे युगमा मात्र परिवर्तन मात्र थियो। दास मालिकको स्थान सामन्त जमिन्दारहरूले लिए। दासहरू भूदासमा परिणत भए। सामन्त तथा जमिन्दारहरूले नयाँ ढँगले शोषण गर्न थाले। जनताका मौलिक हकहरू कुन्ठित नै भए। झन निरंकुश तानाशाही फासिष्ट तरिकाले शासन सञ्चालन गर्न थाले। दमन अन्याय अत्यचारबाट मुक्ति पाउन जनता फेरि विद्रोह गर्न वाध्य भए। यसको नतिजास्वरूप किसान मजदुरहरूको सहयोगमा पुँजीपतिहरूको नेतृत्वमा पुँजीवादी क्रान्ति भयो र सामन्तवादी शासनबाट पुँजीवादी राज्यव्यवस्था स्थापना भयो।

पुँजीवादी व्यवस्था स्थापनासँगै औद्योगिक कलकारखानामा प्रचुर मात्रामा भएको विकासले सर्वहारा श्रमिक वर्गको जन्म भयो। उद्योगको विकासले उत्पादनमा पुँजीको पनि विकास भयो। तर त्यो पुँजी केही सीमित व्यक्तिहरूको हातमा मात्र सीमित रह्यो। बहुसंख्यक जनताहरू दयनीय अवस्थामा नै रहनुपर्ने भयो। औद्योगिक कलकारखानामा मेसिनको प्रयोगले कम मजदुरहरूबाट नै बढी उत्पादन गर्न सकिने भयो। यसले मजदुरहरूको संख्यामा ठूलो मात्रामा कटौटी भयो। लाखौंलाख मजदुरहरू बेरोजगार हुन थाले। पुँजीपतिहरूको जसरी पनि नाफा कमाउने उद्देश्य हुने भएकोले पुँजीवादी व्यवस्थामा श्रमजिवीहरूको भलाइ हुन नसक्नु स्वाभाविक थियो।

अत्यन्त निम्न जीवनस्तरको कारण मजदुरहरूले पुँजीपतिहरूको विरुद्ध फेरि आन्दोलन गर्न सुरू गरे। आन्दोलनको क्रममा बेलायतमा बेरोजगारी, अभाव र भोकमरीले आक्रान्त मजदुरहरूले उद्योगहरूमा मेसिन कलकारखाना नै तोडफोड गर्न थाले। यो आन्दोलनलाई लुडाइट आन्डोलनको नामले चिनिन्छ। यस्तै मजदुरहरूको अर्काे ठूलो विद्रोह फ्रान्सको लियोन भन्ने शहरमा भएको जुलाहा मजदुरहरूको ज्याला बढाउने माग राखेर गरेको आन्दोलन थियो। आन्दोलनमा दश दिनसम्म त लियोन शहर नै आन्दोलकारीहरूले कव्जामा लिएका थिए। तर दुर्भाग्यवश आन्दोलन भने सफल हुन सकेन। यस्तै मजदुरहरूको अर्को विश्वप्रसिद्ध चार्टिस्ट आन्दोलन बेलायतमा भएको थियो।

यो आन्दोलनमा तीसौं लाख मजदुरहरूले हस्ताक्षरसहित मागपत्र संसद भवनमा पेश गरेका थिए। तर तत्कालिन सरकारले यसको बेवास्ता गर्दै उल्टै दमन धरपकड गर्न थाले। यसै परिवेशमा संसारभरि भएको मजदुर आन्दोलन असफल हुनुको कारण केलाउँदै सन् १८४८ मा कार्ल मार्क्स र एंगेल्सको संयुक्त प्रयासमा कम्युनिस्ट घोषणापत्र सार्वजनिक भयो। जसमा विश्वका सारा मजदुर एक हुनुपर्ने र पुँजीवादी व्यवस्था समाप्त गरेर समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापना भएपछि मात्र श्रमिकहरूको भलाइ हुने कुरा उल्लेख थियो। कम्युनिस्ट घोषणापत्र सार्वजनिक भएलगत्तै विभिन्न देशहरूमा मजदुर आन्दोलन संगठित रूपमा हुन थालेको थियो। यही क्रममा विभिन्न देशमा कम्युनिस्ट पार्टीको जन्म भएको थियो।

कम्युनिस्ट पार्टी, मार्क्सवादी सिद्धान्त र विचारलाई व्यवहारिक रूप दिन अथवा श्रमजिवी जनताको शक्तिलाई भौतिक शक्तिमा बदल्नको लागि नीति विधि र योजनासहितको श्रमजिवी वर्गको सचेत संगठित अनुशासित क्रान्तिकारीहरूको पार्टी हो। यसले मजदुर किसान तथा सम्पूर्ण उत्पीडित जाति, भाषा, संस्कृति लगायत आम जनताको हितलाई प्रतिनिधित्व गर्दछ। कम्युनिस्ट पार्टीले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शन, अतिरिक्त मूल्यसिद्धान्तमा आधारित राजनीतिक अर्थशाश्त्र, वैज्ञानिक समाजवाद र वर्गसंघर्षको सिद्धान्तलाई आत्मसात गर्दछ। यसले पुँजीवादी व्यवस्थालाई अन्त गर्दै समाजवाद हुँदै साम्यावादी व्यवस्थामा पुग्ने लक्ष्य राखेको हुन्छ।

संगठन निर्माण गर्न र क्रान्तिका कामलाई निरन्तरता दिन समाजमा विद्यमान वर्गहरूको स्थिति तथा वर्ग संरचनामा आइरहेको परिवर्तनको बारेमा गहिरो अध्ययन विश्लेषण गर्दछ। तदनुरूप क्रान्तिको कार्यनीति, कार्यदिशा निर्धारण गर्दछ। सबै मित्र शक्तिहरूको एकताको बलियो सम्वन्ध कायम गरेर दुश्मन शक्तिलाई कमजोर र एक्लो बनाउने कार्य योजना बनाउँछ। उत्पीडित वर्गलाई वर्गीय मुक्तिको बारेमा प्रशिक्षित गराउँछ। संघर्षका कार्यक्रमहरू तयार पार्दछ।

अध्यक्ष कमरेड माओ भन्नुहुन्छ – “कम्युनिस्ट पार्टी एउटा राजनीतिक पार्टी हो, जसले जनता र राष्ट्रको सेवा गर्दछ। जसको आफ्नो कुनै निजी स्वार्थ हुँदैन।” यस्तै उहाँले थप भन्नुभएको छ– “कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको अग्रदस्ता हो र सर्वहारावादी संगठनको उच्चतम रूप हो। यसले अरू सबै संगठनहरूलाई नेतृत्व गर्नुपर्दछ, जस्तो सेना, सरकार र जनसंगठनहरू।”

कम्युनिस्ट पार्टीका नेताहरू पद प्रतिस्ठा व्यक्तिगत धन सम्पत्ति, सुखसुविधा आदिमा लिप्त नभई सामाजिक जीवनमा रमाउने र समाजको उत्थानमा क्रियाशील भई निरन्तर रुपमा लागिरहने प्रकृतिका हुन्छन्। उनीहरू मार्क्सवादी विचारप्रति प्रतिवद्ध र संगठनकर्ता हुन्छन्। राजनीतिक प्रकृतिका र राजनीति नै आफ्नो जीवनको आधार बनाएका हुन्छन्। जनतालाई सचेत र संगठित गर्ने, संघर्षशील बनाउने, योग्यता प्रदर्शन गरेर जनता दिएको सहयोग नै उनीहरूको जीवन निर्वाहको स्रोत हुने गर्दछ। यसले नै उनीहरूको जीवनस्तरको मापदण्ड निर्धारण हुन्छ। कम्युनिस्ट पार्टीका सदस्यहरू बिउजस्तै हुन्, जसले जनताँंग फल्ने र फुल्ने क्षमता राख्दछन्। वर्गदुश्मनलाई घृणा गर्दछ, अन्याय अत्याचारको विरोध गर्दछ, दलाल तस्करी नोकरशाही भ्रष्टाचारीको विरोध गर्दछ र कुनै पनि धर्मलाई स्वीकार गर्दैन। संघर्षशील, अनुशासित, स्वाभिमान, इमान्दार र नैतिकवान कम्युनिस्ट पार्टीका नेताहरूको पहिचान हुन्छ।

समाज विकास र परिर्तनमा श्रमिक जनताको महत्वपूर्ण भूमिका रहेको हुन्छ। तर उनीहरूको जीवनस्तरमा भने महत्वपूर्ण परिवर्तन भएको देखिँदैन। निरन्तर बढिरहेको महंगी तथा जीवन धान्न पुग्ने ज्यालाको अभाव र बेरोजगारीको कारण कामको खोजीमा विदेश जानुपर्ने बाध्यता छ। जनताको चेतनास्तर न्यून हुनुको कारण विचारको क्षेत्रमा कुहिरोको कागझैं अल्मलिएको अवस्था छ। कुन पार्टी सही र कुन गलत हो भन्ने छुट्याउन सक्ने क्षमताको विकास हुन सकेको छैन।

संगठनको क्षेत्र अराजकतावादभित्र अल्मलिएको छ। पुँजीवादी व्यवस्थामा सम्मान र श्रद्धाको दृष्टिले हेरिने वैद्य, डाक्टर, वकिल, कवि, वैज्ञानिक आदिजस्ता पेशा व्यवसायलाई समेत फिका बनाएर उनीहरूलाई पनि ज्यालादारी मजदुर बनाएको छ। प्रकृतिले सित्तैमा दिएको हावापानी, जमिन, जंगल जस्तो खनिज वस्तुहरू कुनै न कुनै किसिमले आफ्नो कव्जामा पार्न, दोहन गरेर नाफा कमाउने काममा राज्यसत्ता सहयोगी बनिरहेको छ। कहिँ सिमित व्यक्तिको हातमा पुँजी केन्द्रित छ। वास्तविक जनता दिन प्रतिदिन गरिव निमुखा र निर्वाहमुखी मात्र हुन पुगेका छन्।

श्रमिक जनतामा अपार र अजेय शक्ति रहेको हुन्छ। तर त्यसलाई बुझ्न नसकेर कस्तुरी मृगले आफ्नो नाभीबाट उत्पन्न भएको वासना राम्रो लागेर त्यसको स्रोत पत्ता लगाउन जंगल चहारेजस्तै आम जनता शक्तिको खोजको क्रममा देवता ईश्वर, राजा महाराजा, सामन्त, शासक, धनीमानी व्यक्ति र नेताहरुको सम्मान गर्ने र तिनलाई रिझाउन पूजा गर्ने, धर्म र अलौकिक शक्तिको विश्वास गर्दै संसारमा हुँदै नभएको ईश्वर छ भन्ने भ्रममा भौतारिने प्रवृत्ति कायम छ।

कम्युनिस्ट पार्टी नेताहरूको अग्रदस्ता हो। कम्युनिस्ट पार्टीभित्र सबै जनता अटाउन सक्दैनन्। कम्यनिष्ट पार्टीको सदस्य हुन शिक्षित सक्रिय एवं मार्क्सवादलाई बुझेको व्यक्तिहरू, विभिन्न आन्दोलनबाट खारिएका व्यक्तिहरू हुनुपर्दछ। जनवर्गीय संगठनमा सदस्य बन्न मार्क्सवादी पक्षधरताको अनिवार्यता हुँदैन। मध्यवर्ती तथा पिछडिएका अचेतन हिस्सा, निम्न वुर्जुवा वर्गबाट प्रभावित श्रमिकहरू, अर्ध सर्वहारा वर्ग लगायतका लाखौं जनता विभिन्न जनवर्गीय संगठनहरूको सदस्य बन्न सक्छ। आन्दोलनको मुख्य क्रान्तिकारी शक्ति श्रमजीवी जनता हुन्। तर असंगठित अवस्थामा रहेका जनताबाट क्रान्तिलाई सफलतामा पुर्‍याउन सकिँदैन।

जीवन निर्वाह गर्ने क्रममा उत्पादनका निमित्त विभिन्न पेशामा क्रियाशील श्रमजीवी जनतालाई कम्युनिस्ट पार्टीले पेशाको आधारमा जनसंगठनहरूमा आवद्ध गर्ने गर्दछ। जनवर्गीय संगगनमा बहुसंख्यक पेशाकर्मीहरू र अल्पसंख्यामा पार्टीका सदस्यहरू रहने गर्दछन्। यसको नेतृत्व कम्युनिस्ट पार्टीका सदस्यले गर्नुपर्दछ। जसरी बलेको अगुल्टाले निभेको अगुल्टोलाई सल्काउन सक्दछ, त्यसैगरी कम्युनिस्ट विचारधाराको वैचारिक अवधारणामा आधारित भएर संघर्षशील संगठनकर्ताले मात्र संगठनलाई सही ढंगले सञ्चालन गर्न सक्दछ। अर्थात नेतृत्व लाल र दक्ष हुन अनिवार्य छ।

कुनै पनि जनवर्गीय संगठनले आ–आफ्नो पेशाको हकहित, पेशाको सुनिश्चिता, सुरक्षा, वृत्ति विकास लगायतका श्रमिकहरूको मौलिक हकको ग्यारेन्टीका लागि संघर्ष गर्दछ। यसले गर्ने संघर्षका विधि पार्टीले गर्ने जस्तो अवैधानिक तथा सशस्त्र तरीकाले नभई शान्तिपूर्ण तरीकाले सरकारले दिएको नियम कानुनको परिधिभित्र रहेर हुने गर्दछ। समाजवादका आधारभूत आधारहरू तयार गर्न अर्थात समाजवादको पक्षमा जनमत आकर्षित गर्न र पुँजीवादी व्यवस्थाको विरुद्धमा जनमत तयार गर्नु जनवर्गीय संगठनको महत्वपूर्ण कार्य हो।

कम्युनिस्ट पार्टी सर्वहारा वर्गको विशिष्ट तथा मार्क्सवादी विचारको अभिव्यक्ति दिने राजनीतिक संगठन हो। जनवर्गीय संगठन माछाको कुर जस्तै हो, जहाँ आम पेशागत मानिसहरू जम्मा भएर बसेको हुन्छन्। कम्युनिस्ट पार्टी र जनवर्गीय संगठनको सम्वन्ध एक–अर्कासँग अन्योन्याश्रित हुनुपर्दछ। यी दुईबीच पानी र माछाको जस्तो सम्वन्ध रहेको हुन्छ।

पार्टीको विचार, योजना तथा लक्ष्य जनतासम्म पुर्‍याउने काम गर्नुको साथै कम्युनिस्ट पार्टीको सदस्य निर्माण गर्ने काम लगायत क्रान्ति सम्पन्न गर्ने र क्रान्तिपछि राज्यसत्तालाई व्यवस्थित गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ। कम्युनिस्ट पार्टीले जनवर्गीय संगठनहरू निर्माण गर्ने, स्थापित गर्ने र सशक्त बनाउने एवं ती संगठनहरूलाई अर्थवाद, अवसरवाद र अराजकतावादबाट मुक्त गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्