डिजिटल मुद्रा : मानव सभ्यताको नयाँ युग

Bisheswor Kattel
लोकपाटी न्यूज

– विश्वेश्वर कट्टेल

डिजिटल मुद्राहरूमा भौतिक विशेषता छैनन्। यिनीहरू केवल डिजिटल रूपमा मात्र उपलब्ध हुन सक्छन्। डिजिटल मुद्रा कारोवार गर्ने साधनहरूमा इन्टरनेट नै पहिलो र प्रधान साधन हो। त्यस अलावा निर्दिष्ट नेटवर्कहरूमा जडान भएका कम्प्युटरहरू वा इलेक्ट्रोनिक वालेटहरू प्रयोग गरेर पनि यो कारोवार गर्ने गरेको पाइन्छ। डिजिटल मुद्रा अमूर्त हुन्छ। भौतिक मुद्राहरू जस्तो मूर्त हुँदैन। यिनीहरु केन्द्रीकृत हुन्छन्, भौतिक मुद्राजस्तो केन्द्रीकृत र विकेन्द्रीकृत हुन सक्दैनन्।

डिजिटल मुद्रा निश्चित र निर्देशित माध्यम र साधनबाट मात्र परिचालन गरिन्छ। यस्ता मुद्राले निश्चित साधनको माग गर्दछन् र आफ्ना कारोवारीहरूसँग मात्र सम्बन्ध राख्दछन्। विकासको क्रममा यसले थप गति त प्राप्त गर्ला नै, तर आजको सबै विश्वका बहुआयमिक विशेषता र प्रवृत्तिका लागि यो सम्भव छैन। आजको दुनियाँ र जीवनको लागि सहजता भनेको मुद्रा केन्द्रीकृत र विकेन्द्रीकृत दुवै अवस्थामा रहनु हो साथै भौतिक र अभौतिक दुवै स्वरूपको उपस्थिति हुनु हो।

मुठ्ठीको बन्धन

यो स्याटलाइट मुद्रा भएकाले स्याटलाइटको सामान्य तलवितलमा यो सधैं सधैंका लागि र सबै सबैका लागि अन्त हुन सक्छ। जब यसप्रति मानिसको निसंकोच प्रवेश हुन्छ र यो जीवन पद्धतिको आधार जस्तै बन्न पुग्दछ, त्यसवेला यसमाथि राजनीति सुरू हुन्छ। युद्ध यसैमा थोपरिन्छ। मानिस, आफू एकको इगो साँध्न लाखौंलाख मानिस बली चढाउन पछि पर्दो रहेनछ। इतिहास साक्षी छ। मानव सभ्यता युद्ध पिपाशु लहडको उभारबाट उदाएको र ठडिएको सभ्यता हो। यो प्रवृत्ति र प्रकृतिले अब अमूर्त द्रव्य शक्तिको भरमा सारा भौतिक जगत मुठ्ठीको बन्धन बन्न सक्ने खतरा हुन्छ।

राज्य अमूर्त होला

सभ्यताले आज पनि स्टाटलाइट विना भौतिक सम्पत्तिको अस्तित्वसमेत नकामजस्तै तुल्याएकै छ। एकछिनमा विश्वको जुनसुकै कुनाबाट जुनसुकै कुनामा पैसा पठाउन सकिने अवस्था छ। यो डिजिटल मुद्राकै कमाल हो। यो एकल पद्धतीय प्रणालीमा आधारित छैन। जब यो एकल प्रणालीमा व्यवस्थित हुन्छ यसको एकाधिकार स्वरूप देखा पर्नसक्ने खतरा बढी देखिन्छ। यस करेन्सीले नेटवर्कमार्फत भोलि आफ्नै नयाँ राज्य त निर्माण गर्न सक्दैन ? सम्पति अमूर्त हुन्छ भने राज्य अमूर्त होला कि नहोला ? के आर्थिक सङ्गठन सक्षम बन्यो भने यसले अमूर्त राज्य त खडा गर्न सक्दैन ? थुप्रै प्रश्न पनि उठ्न सक्दछ।

हुन तः डिजिटल मुद्रा कति भरपर्दो हो भन्ने कुरा यसका सुरक्षा विधि कसरी परिमाजित गर्दै र विश्वस्त तुल्याउँदै लान सकिन्छ भन्नेमा पनि भर पर्दछ। मुख्यतः सुरक्षाको पक्ष के हो ? कति भरपर्दो हो ? डिजिटल करेन्सीमा जान सम्भव छ छैन भन्ने खोजेको मुख्य विषय यसैबाट सुरु हुनुपर्दछ। मुद्राको विषयले मानिसको जीवनसँग अन्योन्याश्रित सम्बन्ध गाँसिरहेको हुन्छ। मुद्रा सुरक्षित, भरपर्दो र सहज होस् भन्ने मानिसको चाहना हुन्छ। डिजिटल मुद्राले सबै सबैमाथि विश्वस्त दिलाउन सक्यो भने मात्र भौतिक मुद्राको स्थानमा आफूलाई प्रतिस्थापन गर्दै लैजान सक्दछ।

व्यवस्थापकीय साधन

मुद्रा भनेको लागू गर्ने कुरा होइन, यो त अपनाउनपर्ने साधन हो। सभ्यता विकासका क्रममा मानिसले गरेको प्रगतिको परिणामस्वरूप मुद्रा साधनको रुपमा विकास भएको हो। कसैले कल्पना गरेको वा बौद्धिक मष्तिस्कबाट मन्थन गरी निकालिएको साधन होइन। मुद्रा आवश्यकताले सिर्जना गरेको भौतिक साधन हो। मुद्रा जहाँ पनि अनिवार्य हुन्छ, तर कहीँ पनि प्रधान हुन सक्दैन।

यो थर्डपार्टी कन्सेप्ट हो। मुद्रा निर्णयकर्ता होइन, यो व्यवस्थापकीय साधन हो। जसले निर्णय प्रक्रियामा सहजता ल्याउनेछ। विकासको क्रममा कुनै समय अभौतिक साधन स्थापना हुन नसक्ने अवस्था छैन। तर, त्यसले भौतिक साधनले दिएको सन्तोष र विश्वास काम गरेपछि मात्र यसको हैसियत वोध गर्न सकिने छ।

लेनदेनको प्रिय साधन

भौतिक मुद्राहरूमा बैंक–नोट, टक र सिक्काहरू हुन्छन्। आफ्नो हातले छुन सकिन्छ। आफैंले गनेर वा साथमा राखेर सन्तोष लिन सकिन्छ। साथमा राख्दा आत्मविश्वास बढेको अनुभूति दिने र गनिरहँदा पनि पैसाले मानिसमा नयाँ सुकुन मिलेको अनुभूति प्रदान गर्दछ। मूर्त मुद्राहरूसँग निश्चित भौतिक विशेषताहरू हुन्छन्। भौतिक उपस्थितिमा लेनदेन र आत्मियताको माध्यम बन्दछ। यस्ता मुद्राहरू भौतिक लेनदेनका प्रिय साधन बनेका छन्। यी मुद्राका आफ्नै भौतिक स्वामित्वसँगै भावनात्मक र आफूप्रति गरिने विश्वासको सम्बन्ध हुन्छ। दृष्य हुन्छन्, आत्मविश्वास जगाउँछन् र भरपर्दा मानिन्छन्।

यन्त्र–समान मानिस

आज मानिस यति व्यस्त बन्दै छ कि, उ स्वयंलाई थाहा हुँदैन म को हुँ भन्ने। उसका मस्तिस्कहरू यन्त्र–समान बन्न पुग्दछन् । उ आफूलाई यन्त्रवत तुल्याइरहेको छ। ऊभित्रका भावना, संवेदना हराउँदै गएको प्रतीत हुन्छ। के राम्रो, के नराम्रो, के मीठो, के नमिठो, भोक तिर्खा, निन्द्रा कतिखेर, उसले अनुभूति गर्न सक्दैन। त्यसका लागि उसले प्रविधिको सहायता लिन बाध्य हुन्छ।

स्वाद, भोक, तिर्खा, निन्द्रा जस्ता कुरा मानव सभ्यताको उपज होइन। यो त प्रकृतिको नियम हो। यसका विरुद्ध जानेको जीवन सही मार्ग र दिशामा हिंडेको हुँदैन। प्रकृतिको स्थान प्रविधिले लिन सक्दैन। डिजिटल प्रविधिले जे भन्यो मानिस त्यही मान्न बाध्य हुन्छ। प्रविधि नै उसको दिनचर्याको साधन बन्न पुग्छ। जीवन जिउने आधार बन्न पुग्दछ। उसलाई लाग्दछ प्रविधि विना बाँच्न सक्ने कुनै आधार नै छैन।

डिजिटल मुद्राका प्रकार

डिजिटल मुद्रा एक व्यापक शब्द हो। यस शब्दले इलेक्ट्रोनिक क्षेत्रमा अवस्थित विभिन्न प्रकारका मुद्राहरू चिनाउन प्रयोग गरिएको पाइन्छ। आज देखापरेका तीन फरक प्रकारका मुद्राहरू बजारमा पाइन्छ। जसमा पहिलो स्थानमा क्रिप्टोकरन्सीहरू नै छन्। क्रिप्टोकरेन्सीहरू डिजिटल मुद्राहरू हुन्। यस्ता करेन्सीले नेटवर्कमा लेनदेनहरू सुरक्षित र प्रमाणित गर्न क्रिप्टोग्राफी प्रयोग गरेका हुन्छन्। क्रिप्टोग्राफीले डिजिटल मुद्राहरूको सिर्जना, व्यवस्थापन र नियन्त्रण गर्न मद्दत गर्दछ। यो नै करेन्सीको भरपर्दो आधार पनि हो। क्रिप्टो करेन्सीको उदाहरणको रूपमा मुख्य गरी Bitcoin/ Ethereum cryptocurrencies लाई लिन सकिन्छ। अधिकार क्षेत्रको आधारमा यस्ता क्रिप्टोकरेन्सीहरू विनियमित हुन सक्ने र नसक्ने अवस्था बन्दछ।

शोषणको नयाँ युग

प्रविधि जसले बनायो उसले उसकै समूहमा, उसको सोचाइ, उसैको नाफाका लागि, व्यापारका लागि र उसको इगो र महत्वकांक्षा वा विलासिताका लागि बनाएको हुन्छ। व्यक्तिलाई कसरी आफ्नो इगो, महत्वकांक्षा र विलासिताको साधनमा रुपान्तरण गर्ने भन्ने सोच मात्र राख्दछ। आमव्यक्तिहरू त्यसको सिकार बन्न पग्दछन्। डिजिटल प्रविधिले शोषणको नयाँ युग शुरु गर्न पुग्दछ।

क्रान्तिको चरम युग

रातदिन काम गरिरहन्छ, के काम ? कुनै मानवीय मूल्य–मान्यता त्यसमा पाउँदैन। र, पनि ऊ ठान्दछ मैले सफलता हासिल गरें। उसले कहिल्यै सोच्दैन मैले एउटा जेलमा बसेर म जस्तै अर्को व्यक्ति बस्ने जेल बनाएँ। यसरी हरेक दिन विज्ञानले सफलता पाएको ठानिन्छ, तर प्रकृति हार्न पुग्दछ। जहाँ प्रकृति हार्छ त्यहाँ मानविय मूल्यमान्यताले हारेको हुन्छ। अन्यायले जितेको हुन्छ, सत्य लुकेको हुन्छ, न्याय मरेको हुन्छ र विनाश प्रारम्भ हुन्छ। अर्थात् क्रान्तिको चरम युग शुरु हुन्छ।

मानिस मोटाउने साधन

यो दुनियाँमा प्रकृतिभन्दा बाहिर कहिँ, केही कुनै कुरा छैन। यहाँ मात्र एउटा भ्रम सिर्जना गरिन्छ। त्यसमा बाँच्न सिकाइन्छ। किनकि, उसले सत्य चिन्न नसकोस्। जे प्राप्त छ, त्यसैलाई सत्य ठानोस्। यही सोचका आधारमा एक मानिसले अर्कोलाई कसरी आफ्नो वशमा राख्ने भन्ने खेल खेलिन्छ। यो खेल जीवनको एक अंश नै बन्न पुग्दछ। मानिसले मानिसविरुद्ध खेल्ने खेल मानव सभ्यताको विकास क्रमसँगै आएको निरन्तरताको एक कडी हो। जो आजको विकास सभ्यताको प्रवृत्ति बन्न पुग्दछ। शोषणको एक आधार र आकार बन्न पुग्दछ। जिउँदा मानिस खाएर जिउँदा मानिस मोटाउने साधन बन्न पुग्दछ।

इतिहास दोहोरिन्छ

जब मानिस जंगली युग वा कविला युगमा थिए। आगोको आविस्कार भइसकेको थिएन। मान्छेले मानिसको सिकार गर्दथ्यो। समूह समूहमा लडभिड हुन्थ्यो। हार्ने मारिने र भोजनको रूपमा प्रयोग हुन्थे। सयांैवर्ष वितेपछि मानिसले मानिस मारेर खानुभन्दा यसको श्रम खान राम्रो हुन्छ भन्ने थाहा पायो। उनीहरूलाई अमानवीय ढंगले काममा लगाउन थालियो। हो, ठीक त्यही बेलाको अवस्था, यस अवधिमा आएर इतिहास दोहोरिन पुग्छ।

बौद्धिक श्रम प्रणाली

यहाँ मानवता, मानवीय मूल्यहरू क्षिण भइसकेका हुन्छन्। प्रविधि निर्माताहरूको दादागिरी चलिरहेको हुन्छ। सबै सबै उसका लागि काम गरिरहेका हुन्छन्। फरक यत्ति हो कि, हिजो जंगली युग (कविला समाजको सुरूवाती अवस्था) मा शारीरिक श्रममा आधारित श्रम प्रणाली थियो भने आज दिमागी अर्थात् बौद्धिक श्रम प्रणाली। हिजो पेटभरि खान दिइँदैनथ्यो भने आज कतिखेर खानुपर्छ भन्ने सोच्नसम्म दिइँदैन। कसैले निर्माण गिरिदिएको लहडमा वा रूटिङमा चल्नुपर्छ। उसले भनेको मान्नुपर्छ। उसले भनेको खानुपर्छ। स्वाद उसको, रोजी उसैको, स्वार्थ उसको मानिस त मात्र साधन हुन पुग्छ।

उपयोगिताविहिन

हुन तः डिजिटल मुद्रा भौतिक मुद्रा जस्तै उपयोगी छ। सामानहरू खरिद गर्न र सेवाहरूको लागि भुक्तानी गर्न प्रयोग सहज हुन्छ। यस्ता अनलाइन करेन्सी प्रयोगकर्ताहरू समुदाय नै खडा गरेर विभिन्न गेमिङ साइट, जुवा पोर्टलहरू वा प्रतिबन्धित सामाजिक नेटवर्कहरूमा पनि संलग्न हुन्छन्। लगानी दुरूपयोग हुने उपयोगिताविहिन साधन र श्रोत बढ्ने र दुरुपयो हुने खतरा जटिल देखिन्छ। आवश्यकताभन्दा विलासितामा यसको जोड सहज हुन्छ। आधारभूत आवश्यकता आम मानवको सरोकारको पहिलो र प्रधान विषय हो। डिजिटल करेन्सीले सेवाका क्षेत्रभन्दा व्यापारका क्षेत्र, त्यो पनि पैसाको व्यापार सहज तुल्याउँछ। जे सहज हुन्छ त्यतातिर सबै कुरा आकर्षक हुनु प्रकृतिको नियम हो। यो नियमले सही मार्ग वा हामीले खोजेको सेवा क्षेत्रको मार्गमा पस्न सहज तुल्याउँदैन।

गुट तयार

डिजिटल मुद्राले गुट तयार गर्दछ। यस्ता गुटहरू हरेक विषय र क्षेत्रसँग सम्वन्धित हुन सक्छन्। अन्तर–गुटबिच भने लेनदेन र कार्यान्वयनमा सहज हुन्छ। अन्तर्देशीय भावनाका सीमाहरू पनि सहज रूपमा पार हुन्छन्। जस्तोः एउटै नेटवर्कमा जोडिएका संयुक्त राज्य अमेरिकामा रहेको व्यक्तिले सिंगापुरमा बस्ने काउन्टरपार्टीलाई डिजिटल मुद्रामा भुक्तानी गर्न सक्छ। के प्रयोजनको भुक्तानी हो ? हतियार खरिद गर्दै छ कि, मानवीय आवश्यकताका वस्तु खरिद गर्दैछ कि ? लागूपदार्थको कारोवार पो भइरहेको छ कि ? काउन्टर पार्टी तयार हुन सक्ने अवस्था देखिँदैन। मुद्रा मानव जीवनका हर सुविधा र महत्वकांक्षा परिपूर्ति गर्ने साधन हो।

केन्द्रीकृत र विकेन्द्रित

डिजिटल मुद्राहरू डिजिटल रूपमा मात्र अवस्थित छन्। भौतिक रूपमा छैनन्। डिजिटल मुद्राहरू केन्द्रीकृत वा विकेन्द्रीकृत हुन सक्छन्। भौतिक मुद्रा एक केन्द्रीय बैंक र सरकारी एजेन्सीहरूद्वारा उत्पादन र वितरण हुन्छ। यो एक केन्द्रीकृत प्रणाली हो। डिजिटल मुद्राहरूमा Bitcoin/Ethereum जस्ता प्रख्यात क्रिप्टोकरन्सीहरू विकेन्द्रीकृत डिजिटल मुद्रा प्रणालीका रूपमा आज उदाएका छन्।

मूल्य हस्तान्तरण

डिजिटल मुद्राहरूले मूल्य हस्तान्तरण गर्न सक्छ। डिजिटल मुद्राहरूको प्रयोगका लागि वस्तु र सेवाका क्षेत्रमा यिनीहरूलाई कसरी ढाल्न सकिन्छ भन्ने सवाल जटिल छ। यसका लागि मुद्राको ढाँचामा मानसिक परिवर्तन आवश्यक छ। डिजिटल मुद्राले अवधारणाको विकास गर्न सहज तुल्याउँछन्। यो नेटवर्क पद्धतिमा आधारित छ। आफ्ना नेटवर्क सदस्यहरूको जीवन विस्तार गर्न सक्छ। तिनीहरूलाई अतिरिक्त शक्तिहरू प्रदान गर्न सक्दछ। जहाँ तिनीहरू वस्तु र सेवाहरूको बिक्री र खरिद कारोबारसँग सम्बन्धित छन्, त्यसको जीवन्त प्रतिनिधित्व हुन सक्ने अवस्था कम रहन्छ। तथापि, डिजिटल मुद्राहरूले अवधारणा विस्तार गरी खरिद–विक्री लेनदेनमा नभई मूल्यको स्थानान्तरणमा भाग लिन सकेको देखिन्छ।

र, अन्तमा,

क्रिप्टोकरन्सीहरू भर्चुअल मुद्रा नै हुन्। तिनीहरू अनियमित छन्। अमूर्त छन्। डिजिटल रूपमा मात्र अवस्थित छन्। भर्चुअल मुद्राहरू नियन्त्रित टोकन पद्धतिका मुद्रा हुन्। यो कुनै खास प्रयोजनका लागि सम्बद्ध सरोकारवालाहरू अर्थात् निश्चित सञ्जालमार्फत परिचालन गर्दछन्। डिजिटल मुद्रा खासगरी गेमिङ्का लागि परिचालन गरिएको मुद्रा हो। काल्पनिक मुद्रा खडा गरेर त्यसको मूल्यवोध गराएर निश्चित सञ्जालभित्रका प्रयोगकर्ताबिच यसका संस्थापकहरू मिलेर अर्थशास्त्रीय रूपमा परिभाषित र नियन्त्रित गरेका हुन्छ।

यसबाट के भन्न सकिन्छ भने यही अवस्था, यही हालत र जुवा खेल्ने खेलाउने, कालोधन सेतो पार्ने सोच र संरचनाबाट विकसित हुँदै आएको भर्चुअल मुद्राले भौतिक मुद्रालाई विस्थापित गर्न त सक्ला, तर यही रूपमा भने यो सम्भव छैन। कुनै राज्यले मान्यता दिन त्यहाँ यसको प्रभाव बढी हुनले होला, तर विश्व मान्यता बटुल्ले क्रममा भने यसले धेरै परिमार्जन र इतिहासको बिंडो थाम्न आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्