मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री शाही

Jivan_shahi_Jiwan
लोकपाटी न्यूज

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज सुर्खेतमा आयोजित एक अन्तर्क्रियामा उनले राज्यका निकायसँगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानव अधिकारको संरक्षण हुने बताए।

मुख्यमन्त्री शाहीले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन भएकोतर्फ सचेत बन्नुपर्ने धारणा पनि राखे। संविधानमा सबैको हक अधिकारको सुनिश्चितता भएको भन्दै उनले त्यसको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नुपर्ने बताए।

‘व्यवसायीले महँगी, कालोबजारी गर्ने, कानून व्यवसायीले पैसाविना गरिबका पक्षमा वकालत नगर्ने, युवा विद्यार्थीले प्रहरी कुट्ने हो भने मानव अधिकारको संरक्षण कसले गर्ने ?’ मुख्यमन्त्री शाहीले भने, ‘सबैले प्रश्न सरकार, राज्यतिर तेर्साउने होइन हामी आफूले समाजप्रति उत्तरदायी भई असल नागरिकको पहिचान बनाउन सक्यौं भने त्यो महत्त्वपूर्ण हो।’

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले कर्णालीमा रोग, भोक, गरिबी नै मानव अधिकार संरक्षणमा चुनौती रहेको विचार व्यक्त गरे। त्यस्तै सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले उद्योग, व्यवसाय क्षेत्रबाट आम उपभोक्ताको अधिकार संरक्षण एवं मानव अधिकारको प्रवर्द्धनमा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्