काठमाडौं। नागार्जुन नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार राजन कोइरालाले चुनावी प्रचारप्रसार थालेका छन्। कोइरालाले आइतबार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनले नागार्जुनको सर्वांगीण विकासको लागि आफूले मेयरमा उम्मेदवारी दिएको बताए।
‘हाम्रो प्रतिस्पर्धा हार वा जीतको हैन, विश्वास र विश्वसनीयताको हो, दल वा पदको हैन, प्रणाली र परिवर्तनको हो।’ भन्ने मूल नाराका साथ आफूले घरदैलो कार्यक्रम थालेको उनले जानकारी दिए। कोइराला शिक्षा, रोजगारी र युवाको क्षेत्रमा एक दशकदेखि निरन्तर सक्रिय छन्। उनी शैक्षिक अभियन्ताका रूपमा चिनिन्छन्। समाज बने मात्र देश बनाउन सकिन्छ भन्ने धारणा राख्ने उनी आफ्नो सामाजिक मूल्यमान्यता र संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता राख्नछन्।
उनले ८ बुँदे चुनावी प्रतिवद्धतासमेत सार्वजनिक गरिसकेका छन्। जसमा उनले स्थानीय पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेका छन्। फोहोर मैला व्यवस्थापनका लागि नयाँ प्रविधिको प्रयोग गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राख्ने दीर्घकालिन प्रष्ट योजना आफूसँग रहेको उनी बताउँछन्। यस्ता छन् कोइरालाका ८ प्रतिवद्धता :
१. नगरपालिकामा स्थानीय विकासका कार्यक्रम तीव्र गतिमा बढाइने :
- सडक-निर्माण तथा स्तरोन्नति: नगरपालिकालाई अन्य पालिका वा जिल्लासँग जोडिने मार्गलाई उच्च प्राथमिकतामा राखेर गुणस्तर सडक निर्माण तथा मर्मत, हरेक घरसम्म कालोपत्रे सडकको व्यवस्था र सडक सरसफाइ अभियान थालिने।
- खानेपानी: नगरपालिकामा ५० प्रतिशतभन्दा बढी नागरिकलाई खानेपानी उपलब्ध नभएको हुनाले वरिपरिका मुहानबारे अध्ययन-अनुसन्धान गरेर प्रभावकारी सञ्चय तथा वितरणमा जोड दिने।
- ढल व्यवस्थापन: नगरपालिकामा भएका सम्पूर्ण खोलानाला सरसफाइ गर्नुका साथै ढल र पानीको निकास फरक-फरक तवरबाट गरिने। सडक छेउका खम्बा र तार व्यवस्थापन, उचित पार्किङ्गको व्यवस्था: नगरपालिकाका सडक छेउछाउका बिजुलीका खम्बा र तारको व्यवस्थापन गर्ने, सवारी साधनको पार्किङलाई ठाउँ तोक्ने र सरलीकरण गर्ने।
२. फोहोर मैला व्यवस्थापन नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राखिने :
- जनचेतना कार्यक्रम: स्थानीय युवा समूहलाई स्वयंसेवाका प्रक्रियाबाट हरेक महिना वडास्तरीय सडक तथा टोल सरसफाइ कार्यक्रमको थालनी गर्ने।
- फोहोर मैला व्यवस्थापन: हरेक सार्वजनिक स्थलमा सड्ने, गल्ने र कुहाउन नसकिने फोहोर मैला छुट्टिने गरी डस्ट्विनको प्रयोग गरिने। वडाले व्यवस्थापन तथा आय-आर्जन गर्ने।
- अध्ययन-अनुसन्धानः नगरपालिकाबाट निस्कने फोहोर मैला र त्यसबाट उत्पादन गर्न सकिने ऊर्जा, प्राङ्गारिक मल वा अन्य उपभोग्य वस्तुका बारे व्यापक अध्ययन गरेर प्रतिवेदन तयार पार्ने, सार्वजनिक बहसपश्चात् उचित कार्यक्रम ल्याइने। संरक्षण र संवर्द्धन नगरपालिकामा रहेका वन जङ्गलको संरक्षण, थप वृक्षारोपण, अब बन्ने घरमा एक घर एक बिरुवाको अवधारणा, फोहोर बाल्न नियन्त्रण तथा अन्य कार्यक्रम ल्याएर वायुको गुणस्तरमा सुधार गर्ने। हराभरा र धूवाँ धुलोरहित सडक रहनेछ।
३. नगरपालिकाका हरेक घरलाई एड्रेस लोकेटर प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सूचना प्रवाहमा सहज वातावरण सिर्जना गर्ने :
- नगरवासीको सूचना सञ्चीकरणः नगरपालिकाका सम्पूर्ण घरधुरीको विवरणलाई केन्द्रीकृत गरी हुलाकी सेवाको सर्वसुलभतामा ध्यान दिइने।
- मेल बक्स प्रणालीको विकास: हरेक घर, कार्यालय र हाउजिङ्गमा चिठ्ठीपत्र र अनलाइन किनमेलका सामान सहज रूपमा घरघर पुग्नका लागि मेल बक्स राखिने।
४. नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गरिने :
- वेबसाइट र एपको निर्माण: पहिलो चरणमा नगरपालिकाको वेबसाइट र दोस्रो चरणमा एपको निर्माण गरिने।
- डिजिटल सूचनामा जोड: नगरपालिकाका ७० प्रतिशत बढी नागरिक दिनहुँ कार्यव्यस्ततामा रहने हुनाले वेबसाइटमा घरको कर, दर्ता दस्तुर र आवश्यक कागजातका बारेमा स्पष्ट सूचना राखिने र विभिन्न काम वेबसाइट र एपबाटै गर्न सकिने प्रणालीको विकास गर्ने।
- ई-भुक्तानीलाई प्राथमिकता: नगरपालिकाको आय-व्ययको विवरणलाई पारदर्शी राख्न ई-भुक्तानीलाई प्राथमिकतामा राखिने।
- अग्रिम बुकिङको व्यवस्था: नगरपालिकाका विभिन्न सांस्कृतिक, पर्यटकीय, धार्मिक र अन्य ठाउँ जान टिकेटको जरुरी हुने भए अनलाइनबाट अग्रिम बुकिङ र ई-टिकेटको थालनी गर्ने।
- विश्वसनीय प्रक्रियाको विकास: नगरपालिकासँग सम्बन्धित सम्पूर्ण कामका रसिद, सिफारिस र अन्य व्यक्तिगत वा संस्थागत दर्ताका कागजात घरैमा पुर्याइने ।
५. नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक, कृषिजन्य र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने :
- साइक्लिङ तथा हिँडडुल गर्ने लेनको विकास: हाम्रो नगरपालिका तिनतिरबाट वन जङ्गलले घेरिएकोले पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक सम्मुन्नतिका लागि हाइकिङ र साइक्लिङ लेनको योजना बनाएर वार्षिक प्रतिस्पर्धाका कार्यक्रम सञ्चालन गरिने।
- वैकल्पिक तरकारी बजार निर्माण तथा कृषि उत्पादनमा जोड: काठमाडौंमा धादिङबाट अधिकतम तरकारीको आयात हुने हुनाले नगरपालिकामा वैकल्पिक तरकारी बजार स्थापना गर्ने, प्रत्येक वडामा कौसी खेतीबारे तालिम दिएर दैनिक आवश्यक तरकारीको खेती गर्न उत्प्रेरित गरिने।
- धार्मिक एवं सांस्कृतिक मेलाको थालनी: नगरपालिकामा भएका धार्मिक एवं सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न बर्सेनि मेलाको आयोजना गर्ने।
- स्थानीय वस्तुको किनबेचका लागि हाटबजार: हरेक तीन महिनामा स्थानीय उत्पादन तथा रचनात्मक सामान किनबेचको लागि हाटबजारको अवधारणा ल्याएर नगरवासीको मेहनतको उच्च कदर गरिने।
- प्राकृतिक सम्पदाको सूचीकरण तथा संरक्षण: नगरपालिकामा रहेका प्राकृतिक सम्पदाको बारेमा प्रशस्त जानकारी राखेर संरक्षणमा जोड दिने ।
६. नगरपालिकामा बसोबास गर्ने जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकका लागि विभिन्न समावेशी कार्यक्रम सञ्चालन गरिने :
- बालबालिका लागि गुणस्तरीय व्यवहारिक शिक्षा: नगरपालिकाका शिक्षण संस्थाहरूसँग समन्वय गरेर सार्वजनिक-निजी साझेदारी कार्यक्रमअन्तर्गत शिक्षक सशक्तिकरणमा जोड दिइने, शिक्षाको गुणस्तर अनुगमन तथा गरिब-जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको उचित मूल्याङ्कनसहितको व्यवस्था, नगरपालिकाले हरेक वर्ष एक चिकित्सक, दुई नर्स र एक इन्जिनियरलाई पढाउने।
- नगरपालिकामा पुस्तकालय, पार्क र खेल मैदान: भविष्यका कर्णधार मानिने बालबालिका र युवाको स्वास्थ्य तथा प्रयोगात्मक सिकाइका लागि सार्वजनिक स्थलमा खेल मैदान, पार्कका साथसाथै नगरपालिकाको लागि एउटा सार्वजनिक पुस्तकालयको स्थापना गरिने।
- ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बिमा र घरघरमै वृद्ध भत्ता पुर्याइने : ज्येष्ठ नागरिकलाई पहिलो पटक आफैँ भेटेर भत्ता वितरण गर्ने, उहाँहरू र अन्य नगरवासीको लागि स्वास्थ्य बिमा र अस्पतालसँगको समन्वयमा सुलभ तथा सहुलियत उपचारको कार्ड वितरण, हरेक छ महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने।
- सामुदायिक, धार्मिक तथा सांस्कृतिक भवन: नगरपालिकाका विभिन्न पाँच स्थलमा बालमैत्री र ज्येष्ठ नागरिकका लागि भेटघाट, धार्मिक कार्यक्रम तथा अन्य प्रयोजनका लागि सामुदायिक भवन-निर्माण गरिने।
७. नगरपालिकामा रहेका बेरोजगार युवालाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवर्द्धन गरिने :
- प्राविधिक शिक्षा र व्यावसायिक तालिमका कक्षा सञ्चालन: नगरपालिकाका ऊर्जाशील युवाका लागि तालिम केन्द्रको स्थापना गरेर प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिने।
- रोजगारी परामर्श तथा समन्वय केन्द्रको स्थापना: युवा साथीहरूको जोश, सोख र रुचिको विवरण राखेर सोहीअनुसारको रोजगारी वा उद्यमशीलतामा सहयोग गर्न नगरपालिका रोजगारी केन्द्रको स्थापना गरिने।
- स्थानीय उद्यमशीलताका लागि वित्तीय संस्थासँगको सहकार्य: नगरपालिकामा सञ्चालित विभिन्न वित्तीय संस्थासँगको सहकार्यमा उद्यमशीलताका लागि सहुलियत ऋण तथा अन्य सहजीकरणका कार्यक्रम ल्याइने।
- उद्यमीसँग युवालाई सल्लाह दिने कार्यक्रम: नगरपालिकामा बस्दै आउनुभएका सफल उद्यमीसँग युवालाई उत्प्रेरणा र सल्लाह दिने किसिमका कार्यक्रमको थालनी गरिने।
८. नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरिने :
- नगरपालिकाका चुनौती टिपोट गरिने: सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न एउटा कार्यसमिति गठन गरेर हरेक वडाका समस्या र चुनौती टिपोट गरिने।
विषयगत पाक्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम: टिपोट गरिएका समस्या र चुनौतीलाई वर्गीकरण गरेर हरेक १५ दिनमा सार्वजनिक सुनुवाइ गरी निर्णयार्थ काम तुरुन्त गरिने। - हरेक क्षेत्रका विज्ञको समिति गठन तथा परामर्श: नगरपालिकाका बस्ने भिन्न क्षेत्रका विभिन्न विज्ञको सूचि बनाएर छलफल पश्चात् २३ सदस्यीय सल्लाहकार समिति गठन गर्ने, उहाँहरूको विज्ञताका क्षेत्रमा लगानी तथा स्थानीय रोजगारी र उद्यमशीलता सिर्जना गर्ने।



लोकपाटी न्यूज

