काठमाडौं। विवेकशील साझा पार्टीले काठमाडौंको मेयरमा समीक्षा बास्कोटालाई उठाउने भएको छ। ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर विवेकशील साझाले मेयरमा बास्कोटाको उम्मेदवारी घोषणा गरेको हो।
उनी विवेकशील पार्टी बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेकी छिन् भने अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
विवेकशीलले उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने जनाएको छ। पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाडौं महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरे। काठमाडौं महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाव लिएर ती सबै समस्याहरूको समाधान गर्दै लैजाने गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताइन्।
आफूहरू विजयी भएमा काठमाडौं महानगरपालिकामा विकास, निर्माणको कामले उचाइ लिने पनि समीक्षाको दाबी रह्यो। पार्टीका संयोजक मिश्रले प्रदूषित, अव्यवस्थित र कंक्रिटको जंगलको रूपमा रूपान्तरित भएको काठमाडौं महानगरपालिकाको स्वरूपमा परिवर्तन ल्याउने गरी आफ्नो पार्टीले मेयर र उपमेयरको उम्मेदवार बनाएको दाबी गरे।
प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, विद्युतीय यातायातको व्यवस्था, नदी, कुवा, तलाऊ, खोलानालाहरूको सफाइ गर्ने उल्लेख गरिएको छ।
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2022/04/प्रतिज्ञा-पत्र.pdf”]



लोकपाटी न्यूज

