काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले देशभर तालमेल गर्न संयुक्त अपिल जारी गरेको छ। पाँच दलीय गठबन्धनका तर्फबाट जारी भएको संयुक्त अपिलमा गठबन्धनलाई विजयी गराउने गरी चुनावी अभियानमा होमिन आग्रह गरिएको छ। स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका दलहरू बीचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले संयुक्त अपिल जारी गरेका हुन्।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकपछि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा अपिल जारी गर्दै हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन्।
पाँच दलले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन्। ‘हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,’ अपिलमा भनिएको छ, ‘त्यसका लागि देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँच दलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं।’
पाँच दलले नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरे पनि त्यस्तो परिवर्तन नचाहने शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। ‘नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ । तर पनि परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू यो परिवर्तनको विरुद्ध अझै पनि षडयन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ,’ अपिलमा भनिएको छ, ‘यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो।’
परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू परिवर्तनका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै त्यसकाविरुद्ध लड्न अघि बढिरहेको उल्लेख गरेका छन्। देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न उनीहरूले सबैलाई आग्रह गरेका छन्। गठबन्धनले चैत १७ गतेको बैठकमै आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो। चुनावी तालमेल कसरी गर्ने भन्ने मोडालिटी तयार गर्न मंगलबार दिउँसो ४ बजे गठबन्धनको अर्को बैठक बोलाइएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।




लोकपाटी न्यूज

