राजदूत सिफारिसमा को–कस्का नातागोता परे ?

Deuba-Cabinet -Mantriparisad
लोकपाटी न्यूज

काठमाडौं। सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ। निर्वाचन आयोगले स्थानीय तहनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला सरकारले त्यसअघि नै राजनीतिक भागबन्डाका आधारमा विभिन्न नियुक्ति गरेको हो।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन्। बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ।

यसैगरी, मन्त्रिपरिषद्ले अन्य कयौं नियुक्तिहरू गरे पनि त्यसलाई गोप्य राखिएको छ। आचारसंहिता लागे पनि पुरानै मितिमा निर्णय गरिएको सन्देश दिन कयौं नियुक्तिमा सैद्धान्तिक सहमति दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। निर्वाचन आचारसंहिता लागू भए पनि सरकारले कुनै नियुक्ति तथा सरुवा बढुवा गर्न पाउनेछैन।

राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली ढकालसमेत परेकी छन्। पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएको जनाइएको छ।

त्यस्तै, श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन्। चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा परेका छन्। त्यस्तै जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने अवसर पाएका छन्। यसअघि श्रीलंकाको राजदूतबाट राजीनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको नाम सिफारिस भएको छ भने जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस भएका छन्। रसियाको राजदूतका लागि मिलन तुलाधर सिफारिस भएका छन् भने श्रीलंकामा बासुदेव मिश्र सिफारिसमा परेका छन्। उनीहरू सबै राजनीतिक दलको कोटाबाट भएका हुन्। त्यस्तै डिल्लीराज पौडेल मलेसियाको राजदूतमा सिफारिस भएका छन्।

परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको सिफारिस भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आजको राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्