काठमाडौं। निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ। मंगलबार निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी केही राजनीतिक दलहरूले नाराबाजी गरेपछि बैठक प्रभावित भएको छ।
मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो। आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो। छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन्।
आचार संहितालाई विभिन्न राजनीतिक दलहरूसँगको छलफलपछि पूर्णता दिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका थिए। तर सत्ता गठबन्धनका दलहरूको दबाबमा आचार संहिता बनाइएको र उनीहरूकै दबाबमा प्रतिबद्धताका लागि सही गर्न लगाएको उनीहरूले आरोप लगाए।
छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको थियो। वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ।



लोकपाटी न्यूज

