काठमाडौं। स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अगाडि सुरु भएको हो।
बैठक स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित हुनेछ। आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। सत्तारुढ दल गठबन्धन एमालेविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढ्ने तयारीमा छन्। ६ महानगरमा गठबन्धनको केन्द्रबाट नै उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको थियो।
बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, काँग्रेसका नेता रामचन्द्र पौडेललगायत सहभागी छन्।
चैत १७ गते बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो। सोमबार बिहान जिल्लास्थित गठबन्धनमा आबद्ध दलहरूको बैठकले स्थानीय तह निर्वाचनमा तालमेल गरी अघि बढ्ने निर्णय गरेका छन्। प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणपछिको यो पहिलो बैठक हो।



लोकपाटी न्यूज

