काठमाडौं। निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ। सोमबार नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी दिएका हुन्।
उनका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने छ।
‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन। सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौंका हुनेछन्।,’प्रवक्ता पौडेलले भने।
आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजबाट मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको पनि जनाएको छ। उनका अनुसार पहिला दुर्गम जिल्लाका लागि मतपत्र छपाइ हुने छ। त्यसपछि सुगम जिल्लाका मतपत्र छाप्ने कार्य हुने छ।
त्यस्तै, आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएको जनाएको छ।यसैगरी, प्रवक्ता पौडेलका अनुसार एक लाख ८० हजार थान नमुना मतपत्र छापिएको छ।



लोकपाटी न्यूज

