स्थानीय चुनाव : ग्रामीण क्षेत्रमा बढ्यो राजनीतिक सरगर्मी

local_election
लोकपाटी न्यूज

म्याग्दी। आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन्। ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो। वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलले उम्मेदवार छनोट अन्तिम चरणमा पुर्‍याएका छन्।

वडा र टोल स्तरमा भेला, सम्मेलन र जनभेटघाट अभियान सकेका प्रमुख दलहरु उम्मेदवार छनोटको अन्तिम तयारीमा रहेको जनाएका छन्। तालमेलको विकल्प खुल्ला राख्दै उम्मेदवार छनोटमा जुटेका हुन्। मत सर्वेक्षण गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न स्वतन्त्र मतदातालाई आकर्षित गर्ने र अन्य पार्टीका मतदाता तान्ने रणनीतिमा दलहरुले जोड दिएका छन्। मतदाता भने नागरिकको नजिकको सरकारका रुपमा रहने स्थानीय तहमा सक्षम, योग्य र दूरदर्शी योजना बनाएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउछन्।

अन्नपूर्ण गाउँपालिका-६ बिरौटाका सुबोध बरुवालले स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिए। ‘जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उमेद्वार बनाउनुपर्छ,’ उनले भने, ‘सबै दलहरुले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो।’

बेनी- ५ भिरमुनीका सुनिल पौडेलले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताए। वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका पौडेल युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, शुसासन र पारदर्शिताको मुद्दा अवको चुनावी एजेण्डा बन्नुपर्ने बताए। राजनीतिक योगदान गरेका, स्वच्छ छवी, सामाजिक भावना र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रुपमा चाहेका छन्।

माओवादीले बेनी- १ मा नरबहादुर थापा, बेनपा- ३ मा पदम पुन, अन्नपूर्ण गाउँपालिका- २ मा ओम फगामी, रघुगङ्गा- २ मा नरबहादुर भण्डारी, मालिका- १ मा तिलक पुन, मालिका- ३ मा मोतिप्रसाद बुढा, मालिका- ४मा रेशम पुन, मालिका- ७ मा रुविन जुग्जाली, धौलागिरि- ६ मा चक्र पुन, धौलागिरि- ७ मा अशोक खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरिसकेको जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिए। चैत २७ गतेसम्म वडा र पालिकाका उम्मेदवार सिफारिस गर्न समय दिएको छ।

बेनी- १ मा टेकबहादुर थापा, बेनपा- ६ मा कृष्णसिंह बानिया र बेनपा- १० मा मसविर रोकालाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले यही चैत २५ गतेभित्र उम्मेदवारको सिफारिस गर्न पालिका कमिटीलाई निर्देशन दिएको जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिए।

कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले वडा र पालिकाका उम्मेदवार छनोटका विषयमा छलफल गर्न सोमबार जिल्ला कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए। एक महिने अभियानका क्रममा वडा र पालिकाको सिफारिस र खटिएका प्रतिनिधीको प्रतिवेदनका आधारमा उम्मेदवार छनोट गरिने उनले बताए।

सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेलको सम्भावना भए पनि औपचारिक रुपमा छलफल गरेका छैनन्। छवटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जानकारी दिए।

अन्नपूर्ण गाउँपालिका- ८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका- ५ चिप्लेटीको डिम्व आधारभूत र मङ्गला गाउँपालिका- १ भरजुलाको बालोदय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ। कर्मचारीको विवरण संकलन गरेर श्रेणी/तह विवरण छुट्याएर मुख्य निर्वाचन कार्यालयमा पेश गर्ने तयारी गरिरहेको छ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मतदानस्थलको स्थलगत अनुगमन गरी सुरक्षा रणनीति बनाउन जुटेको जानकारी दिए। निर्वाचनमा म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ र अन्य १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन्। विसं २०७४ को चुनावमा ७१ हजार ४६३ मतदाता रहेको म्याग्दीमा ७१ मतदानस्थल र ११० वटा मतदान केन्द्र थिए।

गत चुनावमा जिल्लामा कांग्रेसले बेनी नगरपालिकाको प्रमुख, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, मालिका गाउँपालिकामा अध्यक्ष र १५ वडामा अध्यक्ष जितेको थियो। एमालेले धौलागिरि र मङ्गला गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, मालिकामा उपाध्यक्ष र २३ वटा वडा विजय हासिल गरेको थियो। माओवादी केन्द्रले सात वटा वडा र राप्रपाले बेनी नगरपालिकाको उपप्रमुख जितेका थिए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्