रोगी छु भनेर बस्ने फुर्सद छैन, योग गर्नुस्, फुर्तिका साथ चुनावमा खट्नुस् : अष्टलक्ष्मी शाक्य

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई जिताउन एकतावद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएकी छन्। एमाले निकट अनेरास्ववियुको भेलामा उपाध्यक्ष शाक्यले देश बनाउनको लागि एमालेले जित्न आवश्यक रहेको बताइन्। स्थानीय निर्वाचन नजिकै आइसकेकोले फुर्सद नलिएर पार्टीको काम खट्न आग्रह पनि गरिन्।

‘मैले भनेको भएन भनेर चित्त दुखाएर बस्ने बेला छैन। देश बनाउन हामीले एमालेलाई जिताउनु पर्छ,’ उनले भनिन्, ‘त्यसकारण एकताबद्ध भएर, योजनावद्ध ढंगले लाग्नुहोस्।’ पार्टीमा चित्त दुखाएर र म अस्वस्थ छु भनेर बस्ने समय एमाले नेता कार्यकर्तासँग नरहेको उनले बताइन्। योग ध्यान गरेर आफूलाई फुर्तिलो बनाइ सबैले निर्वाचनमा खट्नुपर्ने अहिलेको आवश्यकता भएको शाक्यको भनाई छ।

‘अलिअलि बिरामी हुनुहुन्छ भने योग गर्नुस्, ध्यान गर्नुस्। स्वस्थ मन बनाउनुहोस्,’ उनले भनिन्, ‘योगले रोग हटाउँछ। म पनि गर्छु। चुनाव आइरहेको छ। म रोगी छु भनेर बस्ने फुर्सद छैन। निर्वाचनमा खट्न एक सेकेण्ड पनि फुर्सद नलिनुहोस्। स्वस्थ र तगडा हुनुहोस्। त्यसरी लागे हाम्रो अगाडि पाँच दलको गठबन्धन केही पनि होइन।’ उपाध्यक्ष शाक्यले एमालेसँग चुनाव लड्न पाँच दलीय गठबन्धन डराइरहेको पनि बताइन्। गठबन्धन हुँदा पनि एमालेको जस्तो आत्मविश्वास सत्ता साझेदारका दलहरूसँग नदेखिएको उनले बताए।

‘हामी एक्लै छौं। गठबन्धन गर्न नि पर्‍याछैन। चुनाव जित्ने आत्मबल छ। चुनाव गर्ने र चुनाव जित्ने दृढताका साथ लागेका छौं,’ शाक्यले अगाडि भनिन्, ‘त्यो दृढता खोइत अरू पार्टीमा देखिएको ? उहाँहरूसँग आत्मबल विश्वास छैन। पाँच दल एकातिर छ। हामी एकातिर छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्